काठमाडौ । आज फेब्रुअरी १३ अर्थात् विश्व रेडियो दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरुले दिवसका रुपमा मनाउँछन् ।

रेडियोले मानव सभ्यताको विकास तथा परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जन–जनमा छिटो र प्रभावकारी सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । सन् १८९४ मा ईटालीका वैज्ञानीक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछी आजसम्म रेडियो र यसका संरचनाहरुले थुप्रै आयाममा परिवर्तन ल्याएको छ ।

एउटा अद्भूत अविष्कार जसबाट एउटाले बोलेको आवाज अथवा ध्वनी तारविहिन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट सुन्न सकिन्थ्यो, सञ्चारको माध्यममा यो एउटा अनौठो क्रान्ति थियो, भनिन्छ । सामान्यतया २० हर्जदेखि २० किलोहर्जसम्मको ध्वनी तरङ्ग मानिसले सुन्न सक्दछ तर यो परिधी बाहिरका रेडियो तरङ्गहरुलाई हामी रेडियो सेट मार्फत् सुन्छौं ।

सन् २०११ मा युनेस्कोले विश्व समूदायका लागि निरन्तर रूपमा प्रभावकारी सञ्चारको माध्यम बनेर सस्तो तर सशक्त ढङ्गले दिएको योगदानस्वरूप यससंग जुटेका सम्पूर्ण रेडियोकर्मी र श्रोताको सम्मानमा यो दिनलाई विश्वभर ‘विश्व रेडियो दिवस’ को रूपमा मनाउन थालिएको हो । यसकै निरन्तरता स्वरूप आज छैठौं विश्व रेडियो दिवस मनाइँदै छ । नेपालको सन्दर्भमा १०४ वर्ष लामो जहानीया राणा शासनको अन्त्यसँगै २००७ साल फाल्गुण ७ गते एतिहासिक निर्दलीय प्रजातन्त्र प्राप्तिको एक मिहना नबित्दै २००७ साल चैत २० गते देशको पहिलो रेडियोका रुपमा प्रजातन्त्र रेडियो स्थापना भएको हो ।

पहिलो रेडियोका प्रमुख तारीणी प्रसाद कोइरालाले, “यो प्रजातन्त्र रेडियो हो… भनेर नेपालमा पहिलो पटक रेडियोको औपचारिक सुरुवात गरे । त्यहीँबाटै जनताले सहज सूचना प्राप्तिको मूल माध्यम रेडियोलाई बनाए । त्यो बेला पहिलो विद्यूतीय सञ्चार माध्यम, जुन ५०० वाट क्षमताको सर्ट वेब मार्फत् ललितपुरको, खुमलटार स्टेशनबाट प्रशारण भयो ।

जनतालाई सञ्चारमा सहज पहुँचको उद्देश्यले सरकारी सञ्चार विस्तारको क्रममा २०३९ सालमा ललितपुरको भैंसेपाटी र पोखरा गरी दुई ठाउँबाट १०० किलोवाट क्षमताको पहिलो मिडियम वेब रेडियोको प्रारम्भ भयो । जसलाई क्रमशः २०४९ सालमा वर्दिवास, धरान–धनकुटा, सुर्खेत, दिपायल गरी साविक पाँचवटै विकास क्षेत्रबाट सेवा विस्तार गरियो ।

त्यस्तै, ८८ मेगाहर्ज देखि १०८ मेगाहर्ज निर्धारण गरी देशको पहिलो फ्रिक्वेन्सी मोडुलेशन एफएम रेडियोको प्रारम्भ रेडियो नेपालबाटै भयो । १००० वाट क्षमताको एफएम ट्रान्समिटरबाट २०५३ साल कार्तिक २३ गते ललितपुरको खुमलटारबाट सेवा प्रारम्भ भएको हो ।

एफएमको उत्पत्ति हुँदासम्म नेपाली सङ्गीत र सङ्गीत प्रवर्धन तथा तत्कालीन सरकार, सरकारी सूचनामा केन्द्रित रेडियो नेपाल स्तरीय सुविधा र प्रविधियूक्त प्रशारण स्टूडियोसहित सिंहदरबारमा विराजमान भइसकेको थियो । जसलाई अहिलेसम्म पनि केन्द्रीय प्रसारण भन्ने गरिएको छ । जुन जापानको सहयोगमा अत्याधुनिक प्रविधिमा स्तरोन्नति भएको थियो ।