काठमाडौं । तत्कालीन विद्रोही माओवादीसँग आवद्ध घटकहरुले वुधबार जनयुद्ध दिवस मनाउँदै छन् । तर, संगठित भएर होइन, छुट्टा–छुट्टै । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले त जनयुद्ध दिवसलाई तोडमोड गरेको र आधिकारिक रुपमा जनयुद्धको मर्म स्वीकार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

वुधबार नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरिएको कार्यक्रममा शीर्षक नै ‘जनयुद्ध तथा जनआन्दोलन दिवस’ भनेर राखिएको छ । जसको मुख्य अथिति नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड छन् ।

माओवादीले राज्यविरुद्ध २०५२ साल फागुन एक गते सशस्त्र विद्रोहको घोषणा गरेको दिनलाई ‘जनयुद्ध’ दिवसका रुपमा मनाउँदै आएको थियो । तर, सत्तामा पार्टीले त्यसलाई ‘जनयुद्ध’ मात्र नभनि जनयुद्ध तथा जनआन्दोलन दिवसका रुपमा मनाउने र त्यसमा शहीदलाई श्राद्धाञ्जली दिने गरी कार्यक्रम तय गरेको छ । नेकपाले सबैलाई गरेको पत्राचारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली कार्यक्रममा उपस्थित हुने कुरा कहिँपनि लेखिएको छैन ।

पार्टी केन्द्रीय कार्यालयले पठाएको निमन्त्रणामा ‘नेकपाको केन्द्रीय कार्यालयद्धारा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली’ कार्यक्रममा सहभागि हुन निमन्त्रणा गरिन्छ’ भनी लेखिएको छ । निमन्त्रणामै तत्कालीन माओवादी अध्यक्ष एवं ‘जनयुद्ध’का सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल मात्रै कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थित हुने भनिएको छ ।

२०५२ साल फागुन एक गते तत्कालीन प्रधानमन्त्रीलाई संयुक्त जनमोर्चाका तर्फबाट ४० बुँदे ज्ञापनपत्र बुझाइएको थियो । एक महिनाभित्र गणतन्त्र लगायतका माग पुरा नगरे सशस्त्र विद्रोमा जाने धम्की दिइएको थियो त्यो ४० बुँदेमा । यद्यपि, म्याद नगुज्रदै माओवादीले चार प्रहरी चौकीमा सशस्त्र हमला गरेर हत्या र हिंसाको श्रृंखला सुरुवात गरेको थियो । सजलाई सशस्त्र विद्रोह भनियो । अझ माओवादीले त ‘जनयुद्ध’नै भन्यो । जुन १० वर्षपछि भारतीय मध्यततामा माओवादीले फिर्ता लिएको थियो । ‘जन’उपसर्गलाई माओवादीले निकै समय बेच्यो । एमालेसँग मिलेपछि पनि त्यसका अवशेषहरु कहीँ कतै बाँकि छन्, बाछिटाका रुपमा ।

संविधान निर्माणका क्रममा पनि माओवादीले आफ्नो नेतृत्वको सशस्त्र विद्रोहलाई ‘जनयुद्ध’कै हैसियत संविधानमा लेख्न खोजेको थियो । तर, तत्कालीन एमाले नै तगारो बनेको थियो, त्यो बेला । पछि सबै पार्टीले जनयुद्धको हैसियतलाई मूल कानूनमै अस्वीकार गर्न सकिन्न भने । माओवादीको त्यो सपना तुहियो, जसरी आज सँगै हिडिँरेका ओली ‘जनयुद्ध’को छातामा ओत लाग्न मानेनन् । अथवा, एउटै चुल्हो वा अगेनामा बसिरहेका ओलीलाई ‘जनयुद्ध’त्यति न्यानो लागेन । आगो तापिरहेका उनलाई पीठ्यूमा स्याँठ लाग्ने डर भो । मौन बहिस्कार गरे ।