एजेन्सी । मेक्सिकोका लागूऔषध तस्कर अल स्यापो गुजम्यान थुप्रै आरोपमा दोषी ठहरिएका छन् । अमेरिकाको न्यूयोर्कस्थित एक संघीय अदालतले गुजम्यानलाई विभिन्न १० आरोपमा दोषी ठहर गरेको हो । ६१ वर्षीय गुजम्यान अवैध लागूऔषध कोकिन र हेरोइनको तस्करी गरेको, अवैधरुपमा हतियार राखेको र मुद्रा अपचलन गरेकोलगायतका आरोपमा दोषी ठहर भएका हुन् । अदालतले सजाय भने सुनाउन बाँकी छ ।
अल स्यापोले मेस्सिकोको जेलमा सुरुङ बनाएर भागेपछि सन् २०१६ को जनवरीमा पक्राउ गरिएको थियो । गुजम्यानलाई २०१७ मा अमेरिका सुपुर्दगी गरिएको थियो । उनीमाथि अमेरिकामा लागूऔषध तस्करी गर्ने गरेको आरोप लागेको थियो । गुजम्यान अमेरिकामा लागूऔषध भित्र्याउने सबैभन्दा ठूला व्यक्ति भएको मानिएको छ ।
१९५७ मा एक किसान परिवारमा जन्मिएका गुजम्यान अफिम र गाँजा खेतीमा काम गर्दै आएका थिए । उनले त्यहिँबाट लागूऔषध तस्करी गर्न थालेको बताइएको छ । गुजम्यानको समूह अमेरिकामा लागूऔषध तस्करी गर्ने सबैभन्दा ठूलो समूह भएको मानिएको छ । सन् २००९ मा अमेरिकी फोर्ब्स पत्रिकाले विश्वका धनीको सूचीमा उनको नाम ७ सय १ नम्बरमा राखेको थियो ।