काठमाडौं । माथिको तस्वीर हो । रत्नपार्क अथवा शान्तिवाटीकाको । जहाँ रातो ज्याकेट लगाएका र हातमा रातै ‘रक्तिम’ झण्डा बोकेका एक ‘हुल’ मान्छे आकाशे पुलतर्फ अघि बढ्दै छन् । अपायक ठाउँबाट दौड्दा दौड्दै तस्वीर लिन भ्याएका साथी भीम विश्वकर्माको क्यामेरामा रातो लगाउनेहरुको पुरै हुल समेटिएन । अनि निलो माइक्रो गइरहेपट्टी केही पर भीडमा अल्झिएको हरियो रंगको बस नजिकै थुप्रिएको भीडको आडमा राखिएको मञ्च पनि तस्वीरमा समेटिएन । दुर्भाग्य नै भनौ, दुई मिनेट हतार भो, विपरीत ठाउँ र अपायकतिर पुगिएछ ।
यो तस्वीरले धेरै कुरा झल्काउन पाएन । तर, सन्दर्भलाई भेट्छ र बोक्छ । सन्दर्भ हाे, २४औँ जनयुद्ध दिवसको । तत्कालीन विद्रोही माओवादीले भन्ने गरेको ‘महान जनयुद्ध’को २३ वर्ष कटेको छ । तर, त्यही ‘जनयुद्ध’को सम्झनामा मनाइने ‘जनयुद्ध दिवस’ २४ वर्षमा आइपुग्दा २४ थरीको भएको छ । संजोगले आजै विश्व रेडियो दिवस परेछ । प्रजातन्त्र रेडियोका रुपमा स्थापना भएको रेडियो नेपालले गीत बजाउँथ्यो, ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल’…. बोलको । तर, यो पल्टको जनयुद्ध दिवस न गीतले भने जस्तो भयो, न नेताले सोचे जस्तो । न त जनता बुझेको जस्तो नै । सयथरी मान्छे सय थरी ताल’ भनेकाे जस्ताे भो । खण्ड–खण्ड । झुण्ड–झुण्डमा मनाइयो ‘जनयुद्ध दिवस’ ।
माथिको तस्वीर कथामा समेट्न खोजिएको मूल कुराः ‘रत्नपार्कमा एउटा नीलो ट्रकमाथि मञ्च बनाएर नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको काठमाडौं विद्यार्थी साधारण शाखा र मजदुर साधारण शाखाले जनसभा गरिरहेको थियो । पर, असन छिर्ने आकाशे पुल नजिकैबाट मोहन वैद्य नेतृत्वको क्रान्तिकारी युवा लिग, प्रदेश ३ ले रातो युवा मार्चपास निकाल्छ । त्यो मार्चपास चन्द निकटका भ्रातृ संगठनले गरिरहेको जनसभा भएतिर अघि बढ्छ । तर, दुवैतिरका मान्छेले एक अर्कालाई ठ्याम्मै हेर्दैनन् । बाटो हिँड्दा कुम ठोक्कियो भने मान्छे एक छिन रोकिन्छ । तर, उनीहरु राम्ररी नै ढ्यासिएपनि कुनै गुञ्जायस रहेन ।
रत्पार्कमा मोहन वैद्य निकट भ्रातृ संगठनले निकालेको रातो युवा मार्चपास
वैद्य निकट भ्रातृ संगठनले रत्नपार्कमा गरेको जनसभा
कुरा यत्तिमै सकिँदैन । जनयुद्धमा सामेल नभएको घटकले पनि यो दिवस मनायो । तर, दिवसको नामै फेरर, ‘जनयुद्ध तथा जनआन्दोलन दिवस’ । तत्कालीन एमाले पार्टी केन्द्रीय कार्यालय रहेको धुम्वाराहीमा पनि जनयुद्ध दिवस मनाइयो । तर, दुई पाइलट दुईतिर । एउटा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागि भएनन् । जनयुद्ध तपाइले नै दाइजो बोकेर ल्याउनु भएको हो, तपाइको दाइजोमा हामी हात लगाउँदैनौ भनेको जस्तै, ओलीले प्रचण्डलाई नै ठेक्का दिए । भलै ओली फुर्सदमा पनि थिएनन् होला । तर, आम नागरिकले त्यति साह्रै घुमाउरो भाषा बुझि हाल्दैनन् । फेरि गणतन्त्रमा फरक विचार राख्न पाउने स्वतन्त्रता छ ।
पार्टी एकतापछि नेकपाको केन्द्रीय कार्यालय बनाइएको धुम्बाराहीमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड लगायत नेता
ओली सहभागि नभएपनि पार्टी महासचिव, संसदीय दलको उपनेता सहभागि भए, धुम्बाराहीको कार्यक्रममा । यसलाई अन्यथा भन्न खोजिएको होइन । एउटै दल भइसकेपछि एकै दिन जम्मै कार्यक्रम जुधाउन हुन्छ कि हुँदैन ? एउटै जहाजका दुई पाइलट किन सँधै दुईतिर ?भन्ने आम जिज्ञासा मात्रै हो । अनि अर्कोतिर, अहिलेकै सत्ताधारी नेकपा निकट जनसांस्कृतिक महासंघले छुट्टै कार्यक्रम गर्नु पर्ने कारण ? जनसांस्कृतिक महासंघले प्रज्ञा प्रतिष्ठानमा गरेको कार्यक्रममा तत्कालीन माओवादी केन्द्रकै नेताहरु बढी देखिए । तत्कालीन एमालेका चिनिएको अनुहार त्यति देखिएनन् । प्रदर्शनीमा राखिएका पाेष्टरमा पनि माओवादी नै गन्हाइरहेको थियो ।
प्रज्ञा प्रतिष्ठानमा जनसाँस्कृतिक महासंघले गरेको कार्यक्रम स्थलनजिकै बारमा टाँगिएका जनयुद्धकालीन तस्वीर र क्याप्सन उल्लेखित पोष्टर
प्रचण्डलाई भ्याइ नभ्याई थियो । उद्घोषकले प्रमुख अतिथिको नाम लिंदा जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्ड त ड्यासमा थिएनन् नै, पूर्व गृहमन्त्री एवं तत्कालीन माओवादी कमाण्डर जनार्दन शर्मा पनि निकै पछि पुगेका थिए । मान्छेहरु कार्यक्रमबाट बाहिरिने बेला पुगे प्रचण्ड । वक्ताहरुले बोलेर केहीले कविता सुनाउँदै थिए । पछि कविता सुनेर बसे प्रचण्ड ।
प्रज्ञा प्रतिष्ठानको डबलीमा कविता सुन्दै प्रचण्ड तगायत नेता, कार्यकर्ता
माओवादीले राज्यविरुद्ध २०५२ साल फागुन १ गते सशस्त्र विद्रोहको घोषणा गरेको दिनलाई ‘जनयुद्ध’ दिवसका रुपमा मनाउँदै आएको थियो । तर, अहिले त्यो माओवादी रहेन । २०५२ साल फागुन १ गते तत्कालीन प्रधानमन्त्रीलाई संयुक्त जनमोर्चाका तर्फबाट ४० बुँदे ज्ञापनपत्र बुझाउने असली माओवादी को थियो ? ४० बुँदे बुझाएको म्याद नगुज्रदै चार प्रहरी चौकीमा सशस्त्र हमला गरेर १० वर्षीय जनयुद्धको सुरुवात गर्ने कुन माओवादी थियो ? यो प्रश्नको जवाफ खोज्न अहिले चारतिर डौडिनु पर्दछ, सुप्रिम कमाण्डरदेखि छापामारसम्म । –प्रस्तुती, श्याम सुन्दर