काठमाडौं । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डे । नेपालमा पनि भव्यताका साथ मनाइँदै छ । विशेष गरी युवा वर्गले यो दिनलाई उत्सवका रुपमा मनाउने गर्दछन् । ईटलीका सम्राट क्लाउडिअस दोस्रोले नागरिक विवाहमा प्रतिबन्ध लगाउँदा प्रेम र विवाहको पक्षमा उभिएका पादरी भ्यालेन्टाइनले दिएको बलिदानको सम्झनामा संसारभर प्रेम दिवस मनाउने गरिन्छ । यो दिन प्रेमील जोडीले माया साटासाट गर्ने र प्रेम अभिव्यक्त गर्दछन् ।

यसैबीच, पहिले–पहिले प्रेम दिवसका लागि चाहिने गुलाफ निर्यात गर्ने नेपालमा आजकै दिनका लागि डेढ करोडको गुलाफ भित्रिएको छ । प्रेम दिवसका लागि यो वर्ष ८० प्रतिशत फूल विदेशबाट आयात गरिएको छ । भारतबाट मात्रै डेढ करोड रुपैयाँको एक लाख ५० हजार स्टिक आयात भएको हो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कमार कजसुका अनुसार वर्षभरीमा सबै भन्दा बढी सप्ताहव्यापी प्रेम दिवसमा गुलाफ विक्रि हुन्छ ।

कसरी सुरु भयो ?
विश्वभर युवा युवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवासका बारेमा विभिन्न कथन छन् । यो दिवसको सुरुवात प्राचिन रोमनबाट सुरु भएको हो ।

मध्य युगमा इंग्ल्याण्ड र फ्रान्समा १४ फेब्रुअरीका दिनदेखि चराले आफ्नो जोडीको खोजी गर्न सुरु गर्ने तथा प्रेममा लिप्त भएर सम्भोग गर्छन् भन्ने धारणा थियो ।

यस्तै प्राचिन रोमनमा महिला र विवाहकी देवीलाई सम्मान गर्दै यो दिन उत्सव मनाउने गरिन्थ्यो भन्ने किम्बदन्ती छ । यी यस्तै धेरै किम्बदन्तीको संयुक्त प्रभावबाट प्रेम दिवासको सुरुवात भएको हो ।

विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्वत २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ ।

तत्कालीन रोमन सम्राट क्लाउडियस दोस्रोले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए । प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।

तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अथार्त जेरकी छोरीलाई दिएका कथन छ ।

उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंग्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लोसमय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको छ ।