काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको छ ।

पोहोर साल फागुन ३ गते मन्त्रिपरिषद गठन भएको थियो । जानकारहरुले ओली सरकारको कार्यप्रगति औसत मात्रै रहेको विश्लेषण गरेका छन् । कतिपयले घोषणा मात्रै धेरै भएको तर, काम नभएको पनि भनेका छन् ।

अर्थतन्त्रका सूचकहरु नकारात्मक देखिएको कुरा अर्थमन्त्रीले नै स्वीकार गरिसक्नु भएको छ । यो आर्थिक वर्षको पहिलो ६ महिनामा अधिकांश सूचक नकारात्मक देखिएका हुन् ।

पोहोर सालको पहिलो ६ महिनाको तुलनामा शोधनान्तर स्थिति, व्यापार घाटा, प्रत्यक्ष वैदेशिक लगानी, विदेशी विनिमय सञ्चितिm मूल्यवृद्धि लगायत सूचक खस्किएका हुन् । राष्ट्र बैंकका अनुसार नेपाली अर्थतन्त्रलाई चलायमान बनाइरहेको विप्रेषण अर्थात् रेमिट्यान्स आप्रवाह भने घटेको छैन । यो आर्थिक वर्षको ६ महिनामा मूल्य वृद्धिदर ४.६ प्रतिशत छ । यो पोहोरको तुलनामा ०.६ प्रतिशतले बढी हो ।