काठमाडौं । मुस्ताङमा विहिबारदेखि शैक्षिक सत्र शुरु भएको छ । जाडोका कारण हरेक वर्ष पुस र माघमा सम्पूर्ण विद्यालय बन्द गरिन्छ । फागुनदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ हुन्छ । फागुनबाट जाडो हट्दै जाने र न्यानो बढ्ने विश्वास गरिन्छ ।

मुस्ताङको उपल्लो भेगका केही विद्यालयमा भने घुम्ती सत्र चलाउने गरिएको छ । तल्लो मुस्ताङको घरपझोङ गाउँपालिकाका नौ विद्यालय र थासाङ गाउँपालिकाका १३ विद्यालयमा आजदेखि नयाँ शैक्षिक सत्र शुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाइले जानकारी दिए ।

बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाअन्तर्गतका दुई विद्यालयमा भने घुम्ती विद्याललय सञ्चालनमा छ । लो घ्याकर दामोदरकुन्ड गाउँपालिकाका नौ विद्यालय र लोमान्थाङ गाउँपालिकाका १० विद्यालयमा पुसदेखि घुम्ती शत्र सञ्चलनमा छ ।

चिसोका कारण पठनपाठन सञ्चालन गर्न समस्या भएपछि घुम्ती शत्र सञ्चालन गरिएको हो । जाडो छल्न पोखरा, काठमाडौँ, चितवन, बुटवल तथा भारततर्फ गएका मुस्ताङवासी फागुन लागेपछि घर फर्कने गर्छन् ।