काठमाडौं । नेपाली कांग्रेसको बैठक लम्बिएको छ । पार्टी विधान परिमार्जनसहित अन्तिम रुप दिन बैठक बोलाइए पनि नेताहरुबीच नै फरक–फरक धारणा आएपछि पटक–पटक बसेको केन्द्रीय समिति बैठक अनिर्णित गएको छ ।

वुधबारको बैठकमा विधान पारित गर्ने कार्यसूची रहेपनि केन्द्रीय समितिमा बोल्ने नेताको पालो नै नसकिएकाले बैठक फागुन ९ गते बस्ने गरी स्थगित भएको छ ।
कांग्रेस बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्रै हुनुपर्ने महासमिति बैठकको सुझावमा फरक मत आएको हो ।

नेविसंघको तदर्थ समिति बन्दै
यसैबीच, कांग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । केन्द्रीय समिति बैठकले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी सङ्घको केन्द्रीय समिति गठन गर्न सक्ने निर्णय गरेको हो ।

गएको माघ २ गते कार्यकाल समाप्त भएसँगै सङ्घको केन्द्रीय समिति अहिले विघटित अवस्थामा छ । सङ्घका अध्यक्ष नैनसिंह महरले गत माघ २८ गते पदबाट राजीनामा दिइसकेका छन् भने, त्यही दिन उनको राजीनामा स्वीकृत भइसकेको छ ।