सप्तरी । राजविराजमा निर्माण हुन लागेको तीन हजार मेट्रिकटन क्षमताको शीत भण्डारको बिहिबार शिलान्यास गरिएको छ ।

जापानी प्रविधिको सुविधा सम्पन्न उक्त शीत भण्डारको उपप्रधानमन्त्री उपेन्द्र यादवले शिलालेख अनावरण र प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले भूमिपुजन गरी शिलान्यास गरेका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री यादवले कृषि क्षेत्रको विकास नगरी मुलुकको आर्थिक समृद्धि नहुने बताउँदै सरकारले नारामा मात्र नभई पूर्वाधार र लगानीमा जोड दिएको बताए ।

जिल्ला सहकारी सङ्घ सप्तरीका अध्यक्ष विनोद दत्तका अनुसार सङ्घीय सरकारको ६० प्रतिशत अनुदान, सङ्घ संस्थाको २० प्रतिशत शेयर तथा स्थानीय तह वा प्रदेश सरकारबाट २० प्रतिशत शेयर र अनुदानमा निर्माण हुने शीत भण्डारको क्षमता तीन हजार मेट्रिकटन रहने छ ।

सङ्घका प्रवक्ता माला कर्णका अनुसार कूल ७४ हजार ९८२.६८ वर्ग फिट क्षेत्रफलमध्ये भण्डारको भवनले २१ हजार २०० वर्ग फिट जग्गा ओगट्ने छ । पाँच चेम्बर भएको शीत भण्डारको लम्बाइ ४८ मिटर, चौडाइ ४०.८५ मिटर, उचाइ ९.५ मिटर रहने प्राविधिकले जनाएका छन् । मूल्य अभिवृद्धि करबाहेक रु २७ करोड ४८ लाख लागतमा निर्माण हुने शीत भण्डार परिसरमा आइस प्लान्ट, प्रशासनिक भवन, विद्युत्गृहलगायतको पूर्वाधार निर्माण गरिने बताइएको छ ।