काठमाडौं । सरकारले विभिन्न समयमा खेलाडीले पदक जितेपछि घोषणा गरिएको एक करोड ५६ लाख रुपैयाँको पुरस्कार दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले फुटबल, क्रिकेट र शारीरिक सुगठन लगायतका खेलका पदकधारी खेलाडीलाई घोषणा गरिएको नगद पुरस्कार रकम दिने निर्णय गरेको हो ।

युएईविरुद्व एकदिवसीय र टी–ट्वेन्टी श्रृंखला, थाईल्याण्डमा भएको शारीरिक सुगठन प्रतियोगित र १२औँ सागमा फुटबलतर्फ स्वर्ण पदक जितेको पुरस्कार रकमको विषयमा निर्णय गरिएको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले बताए ।

नेपालले यसै महिना युएईमा एकदिवसीय र टी–ट्वेन्टी श्रृंखला जितेको थियो । मन्त्रिपरिषद् बैठकले क्रिकेट श्रृंखला जित्ने खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको थियो ।

यस्तै, थाईल्याण्डमा भएको विश्व शारीरिक सुगठन प्रतियोगितमा विश्व विजेता बनेका महेश्वर महर्जनलाई समेत ५ लाख दिने सरकारले निर्णय गरेको छ । राखेपले महर्जनको सम्मानमा ७ लाख रुपैयाँ दिन मन्त्रालयलाई सिफारिस गरेको थियो । तर मन्त्रीपरिषदले ५ लाख रुपैयाँमात्र दिने निर्णय गरेको हो ।

यस्तै, बैठकले १२ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फुटबलतर्फ स्वर्ण विजेता पुरुष टोलीका खेलाडीको बाँकी रकम समेत दिने निर्णय गरेको छ । स्वर्ण विजेता खेलाडीलाई सरकारले ५ लाख रुपैयाँ दिने बताएको थियो । खेलाडीले पुरस्कारको दुई लाख पाएपनि तीन लाख रुपैयाँ अझैसम्म पाएका थिएनन् ।