काठमाडौं । सत्तारुढ नेकपाले अख्तियार आयुक्त राजनारायण पाठकविरुद्ध संघीय संसदमा महाभियोग प्रस्ताव लैजाने भएको छ । नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा पाठकले घुस लिएको सार्वजनिक भएपछि महाभियोग लगाउने तयारी गरिएको हो । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदभित्रबाट प्रक्रिया अघि बढाउने निश्चित भएको बताएका छन् ।

पाठकले घुस लिएको स्विकार गरेको भिडियोसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अख्तियारका प्रमुख आयुक्त नविन घिमिरेकहाँ उजुरी परेपछि सत्ताधारी दल नेकपा महाभियोग लगाउने निष्कर्षमा पुगेको हो ।

कलेज विवादबारे आयोगमा परेको उजुरी तामेलीमा राखिदिने भन्दै पाठकले ७८ लाख लिएको आरोप छ । २ महिना अघि नै प्रमुख आयुक्त घिमिरेले भिडियो हेरेर पाठकलाई राजीनामा दिन भनेको बताइएको छ ।

पाठककै कारण अख्तियारको छवि बिग्रिने र कर्मचारीमा मनोबल घट्ने भन्दै त्यसबारे प्रधानमन्त्रीलाई समेत जानकारी गराउनु भएको थियो । २०३९ मा कानून अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका पाठक २०६६ नायव महान्यायाधिवक्ताबाट सेवानिवृत्त भएका थिए ।

न्यायाधीशमाथि छानविन गर्न समिति
न्यायपरिषद्ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँले ५ लाख घुस लिएको आरोपबारे सोध खोज गर्न छानविन समिति गठन गरेको छ ।
न्यायाधीश बानियाँले घुस लिएको विषयमा छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरिएको न्यायपरिषदले जनाएको छ ।

अदालतका नायव सुब्बा भोलानाथ चालिसेलाई गएको माघ १७ गते पाँच लाख घुससहित अख्यितार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । अख्तियारले चालिसेसँग लिएको बयानपछि परिषद्ले बयान र अन्य प्रमाणका आधारमा न्यायाधीश बानियाँको संलग्नता हुनसक्ने आशङ्कामा छानबिन समिति बनाएको हो ।