काठमाडौ । वैदेशिक रोजगार ऐन, २०६४ संशोधनसहित पारित भएको छ । प्रतिनिधि सभाबाट यो ऐन पारित भएसँगै ठूलो संख्यामा म्यानपावर कम्पनी खारेजीको खोजिममा परेका छन् ।

एक वर्षमा सय जना भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी खारेज गर्ने व्यवस्था वैदेशिक रोजगार ऐनमा राखिएको छ । अब बस्ने राष्ट्रिय सभा बैठकमा यो विधेयक पेश हुनेछ । सांसदहरुले राष्ट्रिय सभाले पनि यो विधेयक जस्ताको त्यस्तै पारित गर्ने बताएका छन् ।

राष्ट्रिय सभाले पारित गरेपछि राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित हुनेवित्तिकै नयाँ ऐन कार्यन्वयनमा आउने छ । नेपाली कांग्रेसका सांसद अहत्तर कमाल मुसलमानले संसदीय समिति र प्रतिनिधि सभाबाट सर्वसहमत पारित भइसकेकाले अब संशोधन नहुने बताउनु भएको छ । उनले, ‘वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि यो व्यवस्था गर्नु जरुरी थियो’ भनेका छन् ।

यो वर्ष भने कुनै पनि म्यानपावर कम्पनी खारेजीमा पर्ने छैनन् । पहिलो पटक भएकाले यो वर्ष सचेत गराउने र अर्को वर्ष पनि यीनै म्यानपावर कम्पनीले वर्षमा सय जना कामदार पठाउन नसके खारेजीमाम पर्नेछन् ।

संख्या बढि हुँदा बेथिति बढेको भन्दै सरकारले धरौटी बढाएर म्यानपावर कम्पनी घटाउने तयारी गरेको थियो । तर, संसदमा दर्ता भएको विधेयक छलफलका लागि कानून समितिमा पठाएपछि कानुन समितिले म्यानपावरलाई तीन तहमा वर्गिकरण गर्दै धरौटी कायम गरेर थप व्यवस्था पनि गरेको हो ।

अब म्यानपावर कम्पनीको धरौटी पनि कामदार पठाएको संख्याका आधारमा हुनेछ । यो वर्ष तीन हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख रुपैयाँ नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्नु पर्नेछ । यही साल एक हजार चार वटा म्यानपावर कम्पनीले कामदार पठाएका छन् ।

तर, आधाभन्दा बढि म्यानपावर कम्पनीले सात महिना बितिसक्दा पनि एक सय जना कामदार पठाउन सकेका छैनन् । हालसम्म एक सय जना कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीको संख्या ६ सय ८३ छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार तीन सय २१ वटा म्यानपावर कम्पनीले मात्रै एकसय भन्दा बढी कामदार पठाएका छन् ।

बाँकी दुई सय म्यानपावर कम्पनीले ५० जनाभन्दा बढी कामदार पठाएपनि संख्या सय बनाउन सकेका छैनन् । आउने असार मसान्तसम्म सय जना कामदार पठाउन नसके यी म्यानपावर कम्पनीले एक पटक मौका पाउने छन् । तर अर्को वर्ष पनि सय जना कामदार पठाउन नसके खारेजीमा पर्ने छन् ।

साउनदेखि फागुन मसान्तसम्ममा एक लाख १५ हजार ८ सय ३७ जना कामदार म्यानपावर कम्पनीले पठाएका छन् । बाँकी चार सय ८३ वटा म्यानपावर कम्पनीले ५० जना पनि कामदार पठाउन सकेका छैनन् । यी मध्ये पनि २५ वटा म्यानपावर कम्पनीले एक जनाका दरले मात्रै कामदार पठाएका छन् । २० वटा म्यानपावरले दुई जनाका दरले पठाउँदा तीन जना मात्रै पठाउने म्यानपावर कम्पनी २१ वटा छन् ।