काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह तयार भएको छ । जापानको क्यूसु इन्टिच्युट अफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा पत्रकार सम्मेलन गरेर नेपालको आफ्नै भू–उपग्रह तयार भएको जानकारी दिइएको हो ।

नेपालको भू–उपग्रहलाई ‘नेपाली स्याट १’नाम दिइएको छ । क्यूटेकका अध्यक्ष युजी ओइएले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति डा. सुनीलबाबु श्रेष्ठलाई भू–उपग्रह हस्तान्तरण गर्दै बधाई दिएका छन् ।

‘बर्डस’कार्यक्रम अन्तर्गत नेपाल सरकारको तर्फबाट नास्टले भू–उपग्रह निर्माणका लागि जापानको क्यूटेक विश्वविद्यालयसँग सहकार्य गरेको थियो। भू–उपग्रह निर्माणका लागि नेपालको तर्फबाट इलेक्ट्रिकल र कम्युनिकसेन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिए ।

२०७४ असोज २८ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट क्यूटेकसँग समझदारी भएपछि उपग्रह निर्माण प्रारम्भ भएको जापानमै रहेका नास्टका वैज्ञानिक हरिराम श्रेष्ठले बताएका छन् । यसका लागि एक करोड ५० लाख जापानी यान खर्च भएको उनले बताए।

यसैबीच, आउने अप्रिल १७ तारिख अर्थात् वैशाख ४ गते उपग्रह अन्तरीक्षमा प्रक्षेपण गरिने तालिका सर्वाजनिक गरिएको छ। नेपालसँगै श्रीलंकाको रावना–१ र जापानको उगिसू भू–उपग्रह पनि त्यसैदिन प्रक्षेपण गर्ने तालिका रहेको नास्टका प्रविधि विभागका प्रमुख डा. रविन्द्र ढकालले जानकारी दिए। गत अगस्टमा उपग्रहको इन्जिनियरिङ मोड्यूल तयार भएर डिसेम्बरमा वातवरणीय परीक्षण सम्पन्न भएको थियो।

नेपाल र नास्टको लोगो टाँसिएको भू–उपग्रह आउने सोमबार जापानको अन्तरिक्ष संस्था ज्याक्सालाई हस्तान्तरण गरिने बताइएको छ । प्रक्षेपणको जिम्मेवारी भने अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीकेले लिएको छ । आउने मे महिनाको तेस्रो हप्ता स्पेस स्टेशनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिनेछ । पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रिको कोण भएर पृथ्वीभन्दा करिब ४ सय किलोमिटरमाथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहने बताइएको छ ।