काठमाडौं । अख्तियारका आयुक्त राजनारायण पाठकले दिएको राजीनामा स्वीकृत भएको छ । घुस लिएको प्रमाण नै बाहिर आएपछि पाठकले राष्ट्रपतिलाई बुझाएको राजीनामा स्वीकृत भएको हो ।

पाठकले शुक्रबारदेखि लागू हुनेगरी राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राजीनामा दिएलगत्तै स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिनु भएको छ । नायब महान्यायाधिवक्ताबाट अवकाश पाएका पाठक सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारका पालामा अख्तियारको आयुक्त नियुक्तिका लागि सिफारिस भएका थिए ।

प्रधानमन्त्री संवैधानिक परिषदको अध्यक्ष रहने व्यवस्था छ । २०२१ फागुन १५ गते बसेको संवैधानिक परिषदको बैठकले पाठकलाई नियुक्तिका लागि सिफारिस गरेको हो । त्यसबेला संवैधानिक परिषदमा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह, संविधान सभा अध्यक्ष सुवास नेम्वाङ, प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पुष्पकमल दाहाल, प्रधानमन्त्रीले तोकेका तीन मन्त्री प्रकाशमान सिंह, बामदेव गौतम र सुनिलबहादुर थापा सदस्य थिए ।

दलीय भागबण्डाका आधारमा संवैधानिक परिषदले पाठकसहित दीप बस्न्यात, नवीनकुमार घिमिरे, गणेशलाल जोशी, सावित्री गुरुङको नाम सिफारिस गरेको थियो । मधेसकेन्द्रीत दलको कोटाबाट आयुक्तमा सिफारिस भएका पाठकले राजीनामा दिए लगत्तै आयोगको वेबसाइटबाट नाम समेत हटाइएको छ । सत्ताधारी दल नेकपा महाभियोग लगाउने निचोडमा पुगेपछि पाठकले हत्पत राजीनामा दिएका हुन् ।