काठमाडौँ । देशकै जेठो अस्पताल वीर अस्पताल अहिले पदाधिकारीविहीन अवस्थामा छ । गत साउन २३ मा तत्कालीन उपकुलपति प्राडा गणेश गुरुङको कार्यकाल सकिएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल छ महिनादेखि पदाधिकारीविहीन भएको हो । हालसम्म पनि सरकारले उपकुलपति लगायतका पदाधिकारी नियुक्त गर्न सकेको छैन । स्वास्थ्य मन्त्रालयले गत २७ साउनमै सूचना जारी गर्दै उपकुलपतिका लागि आवेदन माग गरेको थियो । माग अनुसार २५ जनाले त्यसका लागि आवेदन दिएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवेदकमध्येबाट तीन जनाको नाम उपकुलपतिका लागि सिफारिस गरेको पनि हालसम्म पनि सरकारले उपकुलपति नियुक्त गर्न सकेको छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पदाधिकारीका लागि स्वास्थ्य मन्त्रालयबाट गर्ने सबै काम सकिएको जानकारी दिए । ‘‘मन्त्रालयको तर्फबाट कुनै पनि काम बाँकी छैन’’,मन्त्री यादवले भने,“अब मन्त्रिपरिषद्बाट उपकुलपति नियुक्त गर्नुपर्नेमा हालसम्म नियुक्त गरिएको छैन ।” अब केही दिनभित्र न्याम्सको उपकुलपति नियुक्त हुने जानकारी दिए ।

गत असोज १ मा उत्कृष्ट तीन जनाको नाम प्रधानमन्त्री कार्यालयमा सिफारिस गरिएको जानकारी दिदै उनले अब न्याम्सको पदाधिकारी नियुक्तिमा ढिलाइ नहुने जानकारी दिए । स्वास्थ्य मन्त्रालयले आवेदकको प्रस्तुतिबाट डा. डिएन साह, डा.अजित रायमाझी र डा. ढुण्डीराज पौडेललाई छनौट गरेको थियो ।

प्रतिष्ठानमा उपकुलपति लगायतका पदविहीन बन्न पुग्दा प्रशासनिक काममा समेत बाधा पुगेको छ ।

यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान निमित्तको भरमा सञ्चालन हुँदा चार महिनादेखि अस्थायी, करार तथा ज्यालादारी कर्मचारी, नर्स तथा स्वास्थ्यकर्मीहरुले तलब पाउन सकेका छैनन् । वीर अस्पतालमा कार्यरत एक नर्सका अनुसार अस्पताल प्रशासनले तलब नदिदा सामान्य खर्च गर्न पनि समस्या उत्पन्न भएको छ । ‘‘कोठाभाडा, खाद्यान्न लगायतको खर्चको जोहो गर्न पनि सकिएको छैन’’, नाम उल्लेख नगर्ने शर्तमा ती नर्सले भनिन्,“अस्पताल प्रशासनले काम लगाइरहेको छ, तर चारमहिनादेखि तलब सुविधा दिएको छैन ।”

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतका कर्मचारीहरुले बुधबारदेखि न्याम्समा पदाधिकारी नियुक्त गर्न माग गर्दै दैनिक एक घण्टा धर्ना दिदै आएका छन् । वीर अस्पताल आधिकारिक ट्रेडयुनियन कर्मचारी सङ्घका सचिव दीपक मुडभरीले पदाधिकारी नियुक्त नहुँदा अस्थायी कर्मचारीलाई सबैभन्दा बढी समस्या परेको जानकारी दिए । उनले सरकारले उपकुलपति नियुक्तिमा छ महिनासम्म पनि चासो नदिएका कारण धर्ना गर्नुपरेको बताए । उनले दैनिक अत्यावश्यक सामग्री अभाव हुन थालेको भन्दै सर्जिकलको बोलपत्र लगायतका अन्य प्रशासनिक काम पनि ठप्प हुन पुगेको बताए । उपकरण खरिद लगायतका अधिकार निमित्त निर्देशक र उपकुलपतिलाई नहुँदा समस्या भएको मुडभरीको भनाइ छ ।

हाल चिकित्सा विज्ञान प्रतिष्ठानमा उपकुलपति, निर्देशक, रेक्टर, रजिष्ट्रार, डिन लगायतको पद निमित्तको भरमा सञ्चालन भइरहेको छ ।