धुन्चे । रसुवाको हिमाली भेकमा वर्षासँगै उत्तरी क्षेत्रमा हिमपात भएको छ । तीन हजार उचाइ रहेका क्षेत्रमा हिमपात भएकाले ग्रामीण क्षेत्रमा चिसो बढेको छ । तर, गएको पुस ८ गतेदेखि फाट्टफुट्टरूपमा भएको वर्षाले जमीनको चिसो पर्याप्त बढ्दा हिउँदेबाली उत्पादनमा सन्तुलन आउने स्थानीय कृषकले बताएका छन् ।
स्थानीय ज्येष्ठ नागरिक एवं समाजसेवी सोनामसाङ्मो तामाङले ६ वर्षको अवधिमा यो वर्ष धुञ्चेभन्दा तलसम्म नै हिमपातले जमीन छोपेका कारण हिउँदेबालीका लागि वैशाखको पहिलो र दोस्रो सातासम्म चिसोपन बस्ने आँकलन गरिएको बताए । गएको पुसमा एक हजार ६०० मिटरको भू–भागसम्म हिमपात भएपनि पछिल्लो समय हिमरेखा माथि सर्दै जाँदा फागुन १५ गतेदेखि चिसोपन क्रमशः हट्दै जाने अनुभव भइरहेको स्थानीयवासीले बताएका छन् ।
यस्तै, चिसोबाट जोगिन गाउँका विपन्न परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले न्यानो कपडा कम्बल वितरण गरेकाले निकै राहत मिलेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिए ।