काठमाडौँ । देशका नदीनाला तथा सार्वजनिक स्थलको सरसफाइ स्थानीय तहले गर्नुपर्ने भएको छ । यसका लागि नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धि कार्यविधि तयार गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका प्रवक्ता सुरेश अधिकारीले नदीनाला तथा सार्वजनिक स्थलको सरसफाई स्थानीय तहबाट नै होस् भन्ने उद्देश्यसहित कार्यविधि तयार गरी सबै स्थानीय तहलाई पठाइसकिएको जानकारी दिए ।

उनले भने, “सबै स्थानीय तहले कार्यपालिकाबाट पारित गराएर कार्यविधिलाई कार्यान्वयनमा ल्याउनुपर्नेछ । उनीहरुले सरसफाइ अभियान सञ्चालन गर्नुपर्नेछ ।”

कार्यविधि अनुसार स्थानीय तहका प्रमुखको संयोजकत्वमा नगरपालिका÷गाउँपालिकाका उपप्रमुख÷उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुखसहित गठन गरिएको समितिले सम्बन्धित स्थानीय तहको क्षेत्रमा पर्ने नदी, खोलानाला, देवस्थललगायतका सार्वजनिक क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने प्रवक्ता अधिकारीले बताए ।

त्यसैगरी, कार्यविधिअनुसार सम्बन्धित नगरपालिका÷गाउँपालिकाका वडाध्यक्षको संयोजकत्वमा समेत वडास्तरीय समिति गठन गरी वडातहमा नै सरसफाइ अभियान सञ्चालन गर्नुका साथै समितिले सरसफाइका लागि विभिन्न निकायसँग समन्वयसमेत गर्ने उनले बताए । समितिले सरसफाइ गर्नुपर्ने थप क्षेत्रहरुको पहिचान समेत गर्नेछ । उनले कार्यविधिअनुसार स्थानीय तहमा भित्तेलेखन, पोस्टर टाँस्ने लगायतका कार्यलाई पूर्णरुपमा निषेध गर्नुपर्ने, प्लाष्टिक, सिसालगायत वातावरणमा प्रतिकूल असर पार्ने सामग्रीको प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाउनुपर्ने हुन्छ भने ।

कार्यविधि कार्यान्वयनसँगै प्रत्येक स्थानीय निकायले ‘स्वच्छ, सफा र हराभरा क्षेत्र’ घोषणा गरी सफाइ अभियानलाई सञ्चालन गर्नुपर्ने हुन्छ । स्थानीय तहमा रहेका नदी, खोलानाला, मठमन्दिर लगायतका सार्वजनिक स्थलको महिनामा कम्तिमा एकपटक सरसफाइ गर्नुपर्ने हन्छ ।
त्यसैगरी, नगरपालिकाहरूले हरेक महिनाको अन्तिम शनिवार आफ्नो क्षेत्रभित्र रहेका ताल, तलैया, नदी, पोखरी, खोलानालासहित धार्मिक, साँस्कृतिक, ऐतिहासिक सम्पदामा सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

शैक्षिक संस्थाले हरेक महिनाको दोस्रो वा चौथो शुक्रवार सम्बन्धित शैक्षिक संस्थाको नजिकमा रहेका खानेपानीको मुहान, नदी, खोलानाला, पार्क, बगैचा, उद्यान, पोखरी लगायत धार्मिक, साँस्कृतिक, ऐतिहासिक सम्पदामा सरसफाइका लागि अभियान सञ्चालन गर्नुपर्ने उक्त कार्यविधिमा उल्लेख छ ।