काठमाण्डौँ । मेलम्ची खानेपानी आयोजनाले बाँकी काम सम्पन्न गर्न एक हप्ताभित्रै नयाँ टेन्डर आह्वान गर्ने भएको छ । अब गरिने टेन्डर कामको प्रकृतिअनुसार फरक–फरक हुनेछन् । सबै कामका लागि एक मात्रै टेन्डर गर्दा प्रक्रिया लामो र कामसमेत ढिलो हुने भएकाले एकभन्दा बढी टेन्डर आह्वान गर्ने आयोजनाको तयारी छ । मेलम्ची खानेपानी विकास समितिले विशेष परिस्थिति जनाइ छोटो वा लामो प्रक्रियामा जाने भन्ने विकल्प सहितको नयाँ कार्ययोजनाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी पनि गरेको छ ।

निर्माण कम्पनीसँग सम्झौता रद्द गरेपछि परियोजना सम्पन्न गर्न दुईवटा प्रस्ताव अगाडि ल्याइएको छ । द्रूत मार्गबाट जाने प्रस्तावअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ तथा सार्वजनिक खरिद नियमावली २०६४ को दफा १४५ अनुसार विशेष परिस्थितिको कारण जनाई खरिद प्रक्रिया पु¥याएर मौजुदा सप्लायर्स तथा भेण्डरहरूलाई नै प्रयोग गरी छिटो प्रक्रियाबाट काम सम्पन्न गर्ने उल्लेख छ । यो विकल्पबाट जाँदा तीनदेखि चार महिनाको अवधिमा परियोजना सकिने बताइएको छ । नियमित खरिद प्रक्रियालाई अर्को प्रस्तावको रुपमा लिइएको छ । जसमा सार्वजनिक बोलपत्र आह्वानमै तीनदेखि नौ महिना लाग्ने र काम सम्पन्न गर्न दुईदेखि तीन वर्ष लाग्ने अनुमान गरिएको छ । समितिले यी दुई विकल्प मन्त्रिपरिषद्मा प्रस्ताव स्वरुप पठाउन लागेको हो ।

संघीय संसदको अर्थ समितिले पनि सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ तथा सार्वजनिक खरिद नियमावली २०६४ को दफा ४५ अनुसार बिशेष परिस्थितिमा खरिद गर्ने व्यवस्थाको प्रयोग गरी कानुन प्रक्रिया वा कार्य्विधि बाधक भए परिमार्जन वा संशोधन गर्न निर्देशन दिएको छ । लागत नबढ्ने गरी आयोजना सम्पन्न गर्न फागुन २ गतेको समितिको बैठ्कले निर्णय गरेको थियो ।

इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडिएपछि नयाँ टेन्डर गरेर बाँकी काम कसरी अघि बढाउने भन्ने विषयमा खानेपानी मन्त्रालय र मेलम्ची आयोजना विकास समिति छलफलमा छन् ।

सरकारले सिएमसीलाई सन् २०१३ मा तीन वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने गरी सात अरब ७२ करोडमा आयोजनाको जिम्मा दिएको थियो । तर, भूकम्प, नाकाबन्दीलगायतका कारण देखाउँदै विभिन्न समयमा सम्झौता थप गरिएको थियो । पछिल्लो सम्झौताअनुसार सिएमसीले २७ माघसम्म आयोजनाको काम सक्नुपर्ने थियो । विभिन्न कारण देखाउँदै सिएमसीका प्रतिनिधिले २९ मंसिरदेखि नै काम छाडेपछि आयोजना बोर्डले २४ माघमा ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो ।

सिएमसीको आशाले निर्णय हुन सकेन सिएमसीसँगको ठेक्का तोडिएको दुई साता बित्न लाग्दासमेत आयोजनाको बाँकी काम कसरी अघि बढाउने भन्नेबारेमा निर्णय हुन सकेको छैन । आयोजनाका अधिकारीहरुका अनुसार ‘सिएमसीलाई काममा फर्काउन गरिएको पहल र पुनः काममा फर्कने आशाका कारण निर्णय अल्झिएको छ ।