‘२००७ सालको आन्दोलनको आधार तयार पार्न मधेशी समुदायको योगदान झल्किन्छ’

–निमिष झा
हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । तर, प्रजातन्त्र ल्याउन योगदान दिएका योद्धा, उनीहरूको सपनाका साथै समग्रमा सरकार प्रमुख हुन् वा विभिन्न राजनीतिक दलका नेता सबैले फागुन ७ का दिन २००७ सालको जनक्रान्तिको स्मरण गर्छन् । तर, उबेलाको परिवर्तनले देखाएको बाटोमा हिँड्न भने तयार देखिँदैनन् । त्यसैले त उतिबेला प्रजातन्त्रले निर्दिष्ट गरेको लक्ष्य हासिल हुन सकेको छैन । बरु दलका नेताहरूको अदूरदर्शिता, दीर्घकालीन सोचको अभाव र आपसी खिचातानीले प्राप्त उपलब्धि नै बेलाबखत गुम्दै आएको छ । २००७ सालको जनक्रान्तिले प्रजातन्त्रको स्थापना गरे पनि त्यसलगत्तै दलहरूमा जुन किसिमको बेमेल र अन्तरद्वन्द्व देखियो, त्यसैका कारण मुलुकले विकास र स्थायित्वको बाटो समात्न सकेन। त्यसयता प्रजातन्त्र गुम्ने र पुनस्र्थापित हुने क्रम चलिरह्यो ।
फागुन ७ को उपलब्धि राजासहितको प्रजातन्त्रको थियो र त्यसबखत त्यो उपलब्धि अत्यन्तै महत्वपूर्ण थियो । राजनीति अग्रगामी बाटोमा बढ्नुपर्छ । त्यस अर्थमा अहिले प्राप्त गणतन्त्रको संस्थागत विकास गर्ने कुरा हाम्रो प्रमुख लक्ष्य हो । यद्यपि यसको अर्थ लोकतन्त्र र गणतन्त्रको जग बनेको फागुन ७ को सान्दर्भिकता र महत्व कम छैन ।

मधेशको योगदान
७ फागुन २००७ सालमा प्राप्त प्रजातन्त्र, २०४६ मा त्यसको पुनस्र्थापना, २०६३ मा पुनः लोकतन्त्रको स्थापना र त्यसपछि गणतन्त्रको स्थापना हुँदै गर्दा ती सबै उपलब्धिमा मधेशका स्वर्णीम योगदान रहेको छ ।  २००७ असोज १० र ११ गते रौतहटको सीमावर्ती भारतको वैरगनियामा सम्पन्न नेपाली कांग्रेसको ‘रणनीतिक सम्मेलन’ ले सशस्त्र क्रान्तिबाट मात्र परिवर्तन सम्भव भएको ठहर गरेको थियो । त्यही सम्मेलनले पार्टी सभापति मातृकाप्रसाद कोइरालालाई ‘सशस्त्र क्रान्ति’ का सुप्रिम कमान्डर तोक्दै भित्री रूपमा त्यसलाई सञ्चालन गर्ने बागडोर बीपी कोइराला र सुुवर्णशमशेर राणालाई सुम्पेको थियो । बैरगनिया सम्मेलनले तय गरेको मार्गचित्रकै आधारमा नेपाली कांग्रेसको ‘मुक्ति सेना’ ले कात्तिक २५ मा रातभर वीरगञ्ज आक्रमण ग¥यो । आक्रमणका कमान्डर थिर वम मल्लसहित थुप्र्रैले ज्यान गुमाए पनि मुक्ति सेनाले २६ गते बिहान वीरगञ्ज कब्जा ग¥योे । १०४ वर्षे राणाशाहीविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा शुरू भएको प्रजातान्त्रिक आन्दोलनको पहिलो सफलता थियो, वीरगञ्ज कब्जाको घटना । कात्तिक २६ मै मुक्ति सेनाले विराटनगरमा पनि आक्रमण ग¥यो भने त्यसपछि क्रमशः भैरहवा, परासी, नेपालगञ्जलगायतका ठाउँमा समेत आक्रमण गरियो । अन्ततः ७ फागुनमा राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गर्ने आधार यसले नै तय गरेको थियो ।
यो घटनाक्रम यहाँ किन उल्लेख गरिएको हो भने बैरगनिया सम्मेलन र त्यसमा लागेको सम्पूर्ण खर्चको चाँजोपाँजो रौतहटका मधेशी समुदायका जमीनदार–अगुवाहरूले मिलाएका थिए । खानपिनदेखि बासस्थानसम्मको सबै व्यवस्था उनीहरूले नै गरेका थिए । राणाशाहीविरोधी पहिलो सफलता मानिएको मुक्ति सेनाको वीरगञ्ज आक्रमणमा मधेशी समुदायका थुप्रै व्यक्ति मारिए, चर्चा कमान्डर थिर बम मल्लको मात्र हुने गरे पनि । नेपालको करीब सात दशक लामो प्रजातान्त्रिक आन्दोलनको जग मानिने २००७ सालको आन्दोलनको आधार तयार पार्ने काममा रहेको मधेशी समुदायको यो भूमिका प्रजातान्त्रिक नेपाल निर्माणमा मधेशीको योगदान झ्ल्काउन काफी छ ।

२००७ सालको आन्दोलनमा काशीप्रसाद श्रीवास्तव, जानकीनन्दन सिंह, इन्द्रप्रताप सेन, ठाकुर हंसराज, मुन्नीलाल चौधरीलगायतका मधेशी नेता तथा अगुवाहरूको उल्लेख्य भूमिका थियो । त्यसपछि नेपालका हरेक राजनीतिक परिवर्तनहरूमा मधेशले महत्वपूर्ण भूमिका खेल्यो । राजा महेन्द्रले २०१७ सालमा गरेको ‘कु’ विरुद्ध लड्न सबभन्दा पहिले ‘तराई मुक्ति मोर्चा’ गठन भएको थियो । रघुनाथ गुप्ता, रामजी मिश्रलगायतको अगुवाइमा तराई मुक्ति मोर्चा अग्र मोर्चामा थियो । त्यो आन्दोलनमा थुप्रै मधेशी जेल परेका थिए ।

२००७ साल अघिदेखि नै राजनीतिक रूपमा तराई अगाडि रहेको र आन्दोलनको आधार बनाउने तथा नेतृत्व गर्ने काम मधेशले नै गरेको यसबाट प्रमाणिात हुन्छ । किनभने राजनीतिक चेतना मधेशमै थियो । चेतना र आँट कस्तो थियो भने सप्तरीको हनुमाननगर जेलमा आक्रमण गरेर भारतीय स्वतन्त्रता संग्रामका नेताहरू जयप्रकाश नारायण र राममनोहर लोहियालाई भगाउने काम कोइलाडी वर्साइनका जमीनदारहरूले गरेका थिए । करीब ५० जना कार्यकर्ताका साथ भारतको हजारीगञ्ज जेलबाट भागेर नेपाल पसेका जयप्रकाश र लोहिया लहान उत्तरको जंगलमा बसेको वेला राणा सरकारले पक्राउ गरेर हनुमाननगरमा थुनेको थियो ।
२०१८ सालमै राजसंस्थालाई ‘सामन्तवादको प्रतीक’ भनेर जनकपुरमा राजा महेन्द्रको गाडीमा बम हानेका दुर्गानन्द झाले आफ्ना साथीहरूलाई जोगाउन स्वेच्छिक गिरफ्तारी दिएर उच्चस्तरको राजनीति प्रदर्शन गरेका थिए । उनलाई काठमाडौं ल्याएर फाँसीमा चढाइयो । २०१७ देखि २०४६ सम्मको नेपाली आन्दोलनको अग्रस्थानमा थियो मधेश । संघीय लोकतान्त्रिक गणतन्त्रको शंखघोष गर्ने पनि मधेश नै थियो ।

अग्रणी मधेशः प्रजातान्त्रिक संघर्षमा प्राण उत्सर्ग गर्ने शहीदहरुमा मधेशका दुर्गानन्द झालगायतको नाम अग्रपंक्तिमा आउँछ । २००७ साल अघिदेखि नै मधेशले आन्दोलनको आधार बनाउने र नेतृत्व गर्ने काम गरेको इतिहास साक्षी छ । हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका मधेशीहरूले राजनीतिमा आफ्नो भूमिकाको माग गरिरहेका छन् । तर पछिल्लो समयमा मधेशी र गैर मधेशी नेताहरूले मधेशको भावनासँग खेलिरहेका छन ।