आज राष्ट्रिय प्रजातन्त्र दिवस । ६८ वर्षअघि आजकै दिनदेखि नेपाल अँध्यारो युग र बन्द समाजबाट खुला समाजमा प्रवेश गरेको थियो । एक सय चार वर्षे एकतन्त्रीय राणाशासन अन्त्य गरी २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको थियो । उबेलाको क्रान्तिमा होमिएका र प्रजातन्त्रका लागि आहुति दिन तयार भएका योद्धाहरु अहिले पनि सम्झिन्छन्, २००७ को क्रान्तिले नेपाली समाजलाई रैतीको अवस्थाबाट सबैखाले अधिकार प्राप्तिको दिशामा डोराएको ।

यो दिन २००७ सालको प्रजातन्त्र स्थापनार्थ नेपाली जनताले चलाएको क्रान्ति र त्यसपछिका विभिन्न समयमा प्रजातान्त्रिक हक अधिकारको सुनिश्चितताका लागि गरिएका आन्दोलन र बलिदानीको सम्झना गर्ने दिन हो । तत्कालीन नेपाल प्रजापरिषद र नेपाली कांग्रेसलगायत दलहरुले गरेको त्याग र संघर्षले फागुन ७ को उज्यालो छिरेको हो नेपालमा । राजनीतिक उथलपुथल र परिवर्तनका दृष्टिले नेपाल अहिले २००७ भन्दा कयौँ माथि आइसकेको छ ।

अहिले त्यो बेला (२००७ ताका)सशस्त्र संघर्ष गर्नेहरु सरकारमा छैनन् । अहिले त नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्यो । गणतन्त्र बहाली पछि पहिलोपटक दुई तिहाई बहुमतको सरकार बनेको छ, वाम गठजोडमा । तर, २००७ पछि बसेको एउटा साझा घर एक दशकमै उजाडिएको इतिहास पनि छ, हामी सामु (२०१७ साल पुस १) ।

जे होस्, वर्तमान सरकारले प्रजातन्त्र दिवसलाई महत्व दिएको छ । पहिले जस्तो सार्वजनिक विदा दिने चलन भने हराएको छ । तर, एउटा अचम्मः सार्वजनिक विदा नभएपनि दिवस मनाउने सन्दर्भमा भने उहिले जस्तो मान्छेको चाम छैन ।  पहिले राजाको जन्मजयन्तीमा जनसागर उर्लिन्थ्यो । तर, अहिले राष्ट्रिय दिवसलाई पनि त्यति वास्ता गरेको देखिदैन । करलागि, मनाउनै पर्नेहरुले मनाउँछन् । औपचारिक समारोह गर्छन् । काठमाडौंको सैनिक मञ्च टुडिखेलमा प्रजातन्त्र दिवस होस् अथवा गणतन्त्र दिवस, सेनाको टुकडी र सरकारी मान्छेबाहेकको उपस्थिति देखिँदैन ।

प्रजातन्त्र र गणतन्त्रले मान्छेलाई स्वतन्त्र त भनायो । संगसंगै मर्यादीत र अनुशासित पनि बनाउनु पर्ने थियो । त्यसो हुन सकिरहेको छैन । जे जस्तो होस्, १९९३ साल, जेठ २० गते टंकप्रसाद आचार्यको अध्यक्षतामा गठन भएको नेपाल प्रजापरिषदमा आवद्ध योद्धा, १९९७ सालका चार महान शहीदको योगदानलाई पटक्कै विर्सनै पाइँदैन । र, तत्कालीन राजा त्रिभुवनको भूमिकालाई समेत विर्सिनु अर्को अन्याय हुन्छ ।

स्वयं राणा परिवारभित्रको विद्रोह र २००७ सालको क्रान्तिमा होमिएका राज्यश्री उपाध्याय, विष्णुबहादुर मानन्धर जस्ता योद्धाको ‘हाइ प्रोपोगण्डा’ र सशस्त्र संघर्ष लगायत कयौँ प्रजातन्त्र सेनानीको त्यागले यी उज्याला दिन देख्न पाइएको छ ।  ७ सालको घटना युगान्तकारी घटना हो भन्नेमा कहीँ कतै द्विविधा छैन । र, फागुन ७ त्यस्तो दिन हो जसले बन्द नेपाललाई विश्वसँग खुला गरिदियो, त्यसैले यो दिन युगान्तकारी सावित भयो ।