काठमाडौं । हामी आज देखि औपचारिक रुपमा आएका छौँ । आज २०७५ फागुन महिनाको ७ गते मंगलबार । नेपाल संवत ११३९, सिल्लाथ्व पुन्ही । १९ फेब्रुअरी २०१९ । शिशिर ऋतु । माघ शुक्लपक्षको पूर्णिमा तिथि । अश्लेषा नक्षत्र । आज श्रीस्वसथानी व्रत समापन गर्ने दिन, पनि । यसैगरी पूर्णिमा व्रत पनि आज नै परेको छ । त्यतिमात्रै होइन आजैका दिन बन्द नेपाल खुला भई विश्व समुदायसँग जोडिएको ऐतिहासिक दिन, फागुन ७ प्रजातन्त्र दिवस । अर्को अर्थमा भन्दा नेपालीजनका लागि उज्यालोको सुरुवात भएको दिन । यही ऐतिहासिक र शुभ दिनलाई हामीले यात्रारम्भ्का लागि रोज्यौँ ।

शुभ, अशुभ सबैले हेर्छन् नै, आ–आफ्नो संस्कार र परम्परा अनुसार । हामीले पनि आजकै दिनलाई शुभ दिन ठानेर आजैका दिनदेखि औपचारिक पाहिला चाल्दै छौँ । नेपाली पत्रकारिता जगतमा डिजिटल पत्रकारिताको प्रभाव र पकड बढ्दै गइरहेका बेला हामी पनि त्यो प्रतिस्पर्धाको भीडमा छिरेका छौँ ।
पत्रकारिताको कुनै धर्म वा जात अथवा पक्ष र विपक्ष हुँदैन भन्ने मान्यतालाई अनुशरण गर्दै हामीले सामाजिक रुपमान्तरणको अभियानमा आफुलाई उभ्याउने अभ्यासको आरम्भ गरेका छौँ ।

नागरिक पत्रकारिता (अंग्रेजीमा सीटीजन जर्नालिजम्) र अफविट् हाम्रो धार हो । अनि पत्रकार सधैँ हुलाकी नै हो भन्ने कुरामा एकचित्त भई हामीले अनलाई न्यूज पोर्टलको नाम नै पोष्टदैनिक राखेका हौँ । पोष्ट दैनिक संचालन गर्ने संस्थाको नाम समेत हामीले एउटै थिमबाट पोष्ट पब्लिकेशन प्राइभेट लिमिटेड राखेका छौँ ।
हामी विशुद्ध कर्मठ र संघर्षशील पत्रकारहरु संगठित भएर यो डिजिटल समाचार माध्यमको रेखा कोरेका हौँ ।

हामीले राखेका समाचार अथवा विषयगत स्तम्भहरु निकै समय सोध खोज गरेर राखेका हौँ । मुलुकको संघीय संरचना अनुसार हाम्रो उपस्थिति देशभरका ७५३ वटै पालिमा रहने कुरा पाठक वर्गलाई आजैका दिन सूचित गर्दछौँ । अन्तिममाः आन्तरिक तयारीका क्रममै पनि हामीलाई पछ्याई सल्लाह सुझाव दिनुहुने महानुभावमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । आगामी दिनमा पनि तपाईको सल्ला सुझाव र सहयोगको अपेक्षा गर्दै, हाम्रो उपस्थिति औपचारिक रुपमा सुरु भएको जानकारी गराउँदछौँ ।