संस्कृतिविद् एवं प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर जगमान गुरुङले धर्मनिरपेक्षताबारे गम्भीर टिप्पणी गरेका छन् । प्रजातन्त्र दिवसको सन्दर्भमा पोष्टदैनिकलाई दिएको अन्तवार्तामा प्राध्यापक डाक्टर गुरुङले गम्भीर टिप्पणी गरेका हुन् । गणतन्त्र घोषणा गर्ने बेलामा धर्मनिरपेक्षताको फाइल बोकेर संसद छिरेका व्यक्तिको नामै लिएका छन् । नेपाल परम्परा र धर्म संस्कृतिमा अडिएको देश भएकाले विदेशीले धार्मिक आध्यात्मिक मान्छेलाई प्रयोग गरिररहेको भन्दै गुरुङले क्रिश्चियनको प्यारो हुन, हिन्दू त्यो पनि बाहुनले नै संसदमा धर्मनिरपेक्षताको फाइल लुकाएर लगेको हो, भने । डाक्टर गुरुङसँग हामीले प्रजातन्त्र दिवसको सन्दर्भ पारेर केही जिज्ञासा राखेका छौँ ।
० तपाइको परिभाषामा प्रजातन्त्र के हो ?
–प्रजातन्त्र भनेको के हो, भने वर्तमान परिवेशमा कुनै पनि व्यक्ति वा समुदाय जातीय धरातलमा थिचिएर बस्न नपरोस्, आर्थिक दबाबमा मिचिएर बस्न नपरोस्, र सांस्कृतिक दलनमा किचिएर बस्न नपरोस् । स्वतन्त्र । प्रजातन्त्र भनेको त्यही हो ।
० अहिले हामीले प्राप्त गरेको तन्त्र चैँ के हो ?
–अहिले संघीय लोकतान्त्रिक गणतन्त्रका नाउमा, धर्म निरपेक्षताको नाउमा अहिले पनि यहाँ हिन्दू तन्त्र छ । पार्टीका नेताजति सबै बाहुनै छैन ? तर, टुपी नभएका । जनै नलगाएका । फिरङ्गीको पाइँट लगाएका बाहुनहरु । पेशल निरौलाले भनेका छन् नि, ‘बाहुनको राज्य त अहिले भएको छ ।’ त्यस कारण गणतन्त्र भनेको कुनै पनि व्यक्ति, जाती वा समुदाय जातीय धरातलमा पिल्सिनु हुँदैन । आर्थिक अवस्थामा किल्चिनु हुँदैन । सांस्कृतिक धरातलमा मिचिनु हुँदैन । अहिले यहाँ सबैले हिन्दु अधिराज्य भन्छन् । हिन्दू राष्ट्र भन्छन् । गुरुङ, मगर, राई, लिम्बू कति लागेको छ, त्यहाँ । मैले भन्छु, ए,,तिमिहरु पर्ख । कोही हामी मंगोले भन्छम् । बाहुनले थिच्यो । क्षेत्रीले मिच्यो । राज्यले किच्यो भन्छ, फेरि ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र । तिमि सुद्र दर्ता गर्नलाई विभन्न राष्ट्रको आन्दोलनमा लाग्छौ तिमिहरु ? बाहुनको मानसिकता के छ, शूद्र भनेको गुरुङ, मगर, राई, लिम्बू, जाँड खाने । अति शूद्र भनेको कामी, दमाई । फेरि तिमि शूद्रमा दर्ता हुन जानलाई हो, फेरि तिमि पद्मसून्दर लावती भएर अभिषेक गर्नलाई हो । अहिले कसैले कसैलाई त छोलास् भन्न पाइन्छ ? यस्तो समानता भएको बेला, फेरि हिन्दूराष्ट्र भनेर शूद्रमा दर्ता हुने ? भनेर भन्छु । गणतन्त्र भनेको मैले अघि नै भने, जातीय धरातलमा कोही पनि पिल्सिनु नपरोस् । सांस्कृतिक दलनमा कोही पर्न नपरोस् । स्वतन्त्र । फेरि त्यो स्वतन्त्र भनेको उछिलिएको होइन । सद्भावपूर्ण वातावरण सिर्जना हुने अवस्था । त्यही हो प्रजातन्त्र, त्यही हो गणतन्त्र ।
० २००७ साललाई किन सम्झिन्छौँ हामी ?
–२००७ साल अघि एकतन्त्रीय शासन थियो । त्यो २००७ मा एकतन्त्रीय शासनबाट जन्ता मुक्त भो । त्यसो भएर सात साललाई हामीले सम्झियौँ । अनि एउटा कुरा, २०१७ साल किन ल्यायो त ? राजा महेन्द्रले । भारतले खान थालेको थियो । त्यो बल्लभाइ पटेल नमरेको भए, खाइहाल्थ्यो । बचायो कसले नेहरुले बचायो । किन भने, नेहरु र महेन्द्रकोबीचमा उमेर एउटै भएपनि पीता पुत्रको भावना थियो । सम्बन्ध थियो । पिताको रुपमा नेहरुलाई महेन्द्रले मानेको थियो । यसलाई घुक्र्याउँथ्यो । घुक्र्याएर राजा महेन्द्रले बचाएको हो, मुलुक ।
० जस्तो, पछि थुप्रै संघर्षहरु भए, के २००७ पर्याप्त थिएन ?
–त्यसमा एकपक्षीय थियो । त्यसपछि २००७ बाट जातभात त रहिनै रहयो । तर, २०२० सालमा नयाँ मुलुकी ऐन आयो । जातभात हटायो । जातभात २०६२–०६३ ले हटायो कि राजा महेन्द्रले ल्याएको मुलुकी ऐनले हटायो ? त्यो मुलुकी ऐन आएपछि अदालत, अमालतबाट घढी बढीको मुद्दा त सबै खारेज भए । गाउँघरतिर त्यसको छिर्कामिर्का अझै पनि छ । २०२२ सालमा भूमिसुधार लागू भएपछि तालुकी प्रथा हरण भयो । भनेको, एकाधिकार भएन । समानता आयो नि त । राजा महेन्द्रको २०२० सालको नयाँ मुलुकी ऐन, २०२२ सालको भूमि सुधारलाई पनि हामीले मान्नु पर्छ । त्यही कुरो ल्याउन खोजेको हो । नेपाललाई उन्नति प्रगति गर्ने भन्नासाथ फेरि राजा महेन्द्रको पञ्चायत दोहो¥याउने भन्ने होइन । कतिपय अवस्थामा हामीले चन्द्र शमशेरको पनि कुरा गर्नु पर्छ ।
० चन्द्र शमशेरलाई सम्झिनु पर्ने कारण ?
–भारतमा अंग्रेजको राज थियो । त्यहाँँ विभिन्न रजौटाहरु थिए । भारतको रजौटा कस्ता थिए, भने डाँका । त्यहाँ अंग्रेजको सेना जान सक्दैन थियो, अनि अंग्रेजले बोलाएर, तिमि यहाँको रायबहादुर भयौ, तिमि यहाँको रजौटा भयौ । हामीलाई मान तिमिले राज गर भनेर डाँका जतिलाई रजौटा बनाए । यहाँबाट चन्द्र शमशेर गए । त्यहाँको रजौटाहरुको लाइनमा कुर्सी राखेको रहेछ, चन्द्र शमशेर त म्याट्रिक पास गरेका, अंग्रेजी बोल्ने । अनि के भने, म त स्वतन्त्र देशको प्रतिनिधि हुँ । तिम्रो यो राजा रजौटाको लाइनमा म बस्ने होइन, अंग्रेजलाई । अनि चन्द्र शमशेरलाई अलग राखियो । ‘हिज मेजेस्ट्रि’ कसले ल्यायो ? चन्द्र शमशेरले । अहिले हामीले चन्द्र शमशेरलाई गाली गर्छौँ । यहाँ मे दिवस मनाउँछौँ । दासदासी मोचन कसले गरेको थियो ? चन्द्र शमशेरले हैन । उनलाई सम्झेका छौँ हामीले । सामन्ति शासनकालमा पनि केही नयाँ कुरा भएको छ । त्यसरी बुझ्नु पर्दछ ।
० अब एउटा विरोधाभाष, जुन पार्टीको नाम प्रजातन्त्र पार्टी छ, लोकतान्त्रिक पार्टी छ, उनीहरुले नै हिन्दूराष्ट्र चाहिन्छ, भन्छन् ? उहाँहरुको नाम र कामलाई कसरी बुझ्ने ? अनि नागरिकले के खोजिरहेका छन् ?
– यहाँ हिन्दूराष्ट्र हुनुपर्छ भन्ने कुरा क्रिश्चियनहरुले नै ल्याएको हो । किन ? नेपाललाई भताभुङ्ग बनाउनु प¥यो । यहाँ फेरि राजतन्त्र आयो भने, हिन्दूराज्य आयो भने, ठूलो गृहयुद्ध हुन्छ, भताभुङ्ग हुन्छ । अनि भारतलाई पनि सजिलो हुन्छ, अंग्रेजलाई पनि चीन हान्न सजिलो हुन्छ । चीन गम्भीर भएको छ । हिन्दू राष्ट्रको अभियान ल्याएको हिन्दूले होइन । हिन्दू त धर्मछाडा जात हो । जसले जे दियो, हजूर भनेर माग्ने, खाने हो । र, यो क्रिश्चियनहरुले ल्याएको एजेण्डा हो । हिन्दूराज्य भयो र राजतन्त्र आयो भने नेपाली आफ्आफै लड्छन् । र भारतलाई पनि नेपाल खान सजिलो । अंग्रेजहरुलाई पनि नेपालमा बन्दुक अड्याएर फ्रि टिब्बट भएर चीन हान्न सजिलो । उनीहरुको एजेण्डा हो यो । हिन्दूको एजेण्डा होइन । यदि हिन्दूको एजेण्डा हो भनेदेखि गणतन्त्र घोषणाअघि धर्मनिरपेक्षताको एजेण्डा नै थिएन । तर, मध्यरातमा घोषणा भयो । रकमी कर्मचारीले त फाइल लुकाएर लान्छ नि, सुटुक्क ।
धर्मनिरपेक्षताको एजेण्डा कसले लग्यो त ? माओवादीले लग्यो र ? यो त माओवादीको एजेण्डा हो । करैलागिले एमालेले समर्थन पनि गरिदियो । कांग्रेसको त एजेण्डै होइन । तर, त्यहाँ कांग्रेसले लगेको छ । कांग्रेसमा पनि गुरुङ, मगर, राई, लिम्बूले होइन, बाहुनले लगेको छ । रामचन्द्र पौडेल तनहुँको, ‘मैले भन्दे ल जा’ उसैले लगेको हो । रामचन्द्र पौडेलको के गति छ, अहिले ? किन भने शेरबहादुर देउवा अमेरिकाको एजेन्ट । गिरिजाहरु भारतको एजेन्ट, पौडेल त कहीँको पनि एजेन्ट छैन । क्रिश्चियनको प्रियपात्र हुन्छु, भनेर रामचन्द्र पौडेलले लगेको हो, अनि उसले स्वीत्त बनाइदियो । सुवास नेम्वाङले त्यही खोजिराखेको थियो, उसले लान सकेन । पछि पास पनि भइहाल्यो । त्यो पास भएको भोलिपल्ट सबै हिन्दूहरु आ–आफ्ना घरको चिम्टा लिएर, शंख, घण्ट, डमरु लिएर, थाल ठटाएर आन्दोलन गर्न सकेनन् । एक दुई जना पशुपतिका जोगीहरु तिनकुनेसम्म आए, सक्कियो । बरु, आदित्यनाथले सुनौलीको बोर्डरमा गरेको थियो आन्दोलन । विजयन्त सरस्वतीले केरलामा गरे । यहाँका हिन्दूहरु त्यो बेला कहाँ छिरे ? अहिले कसको कलो खाएर पो हिन्दूराज्य, हिन्दूराज्य भनिरहेका छन् । तिनै क्रिश्चियनको कलो खाएर भएको हैन । धर्मनिरपेक्ष घोषणा भएको भोलिपल्ट किन आन्दोलन भएन त ? गर्न सक्थे नि ! नेपालमा राजतन्त्र फेरि उहिल्यै आउँथ्यो, कमल थापा जस्तो बेइमान कोही छैन । उसले यो व्यवस्थालाई नसकारिकन बाहिरै बसेर आन्दोलन गरेको भए उहिल्यै राजतन्त्र स्थापित भइसक्थ्यो, हिन्दू धर्म पनि स्थापित भइसक्थ्यो । सरकारमा बसेर उपप्रधानमन्त्री पनि हुने, क्रिश्चियनको पैँसा पनि खाने । हिन्दूको पनि पैँसा खाने । यस्ता दोग्लाको भर परेर राजाको राजतन्त्र अडिन्छ अब ? अडिदैन, कुरा त्यसरी हो । नेपालमा योग्य राजनीतिक नेता कोही पनि छैन । स्वतन्त्र प्राज्ञिक व्यक्ति पनि कोही पनि छैन । तर, अन्तिममा आएर धेरै दुःख पाएपछि यहाँ नेता आउँछ । नेता जन्मन्छ ।
० समस्याले नेता जन्माउने हो ?
–हो, समस्याले नेता जन्माउँछ ।
० अनि, के धर्मनिरपेक्ष शब्द हटाउँदा सबै समस्या समाधान हुन्छ, होला त ?
–त्यो शब्द हटाएपछि त, फेरि हिन्दूराष्ट्र ल्याउनु पर्ने हुन्छ ।
० हैन, कतिपयले धर्मनिरपेक्ष पनि नलेख्ने, हिन्दूराष्ट्र पनि नलेख्ने र सुहाउँदो उपयुक्त शब्द राख्दा हुन्छ, भन्छन् नि ?
–अहिले पनि कसैलाई धर्म मान्न छेकबार छैन । अहिलेको धर्मनिरपेक्षता के को धर्मनिरपेक्षता ? केही समय अघि धनकुटामा सार्कीले होइन, तामाङले होइन, गोरु काट्ने दुईटा क्षेत्रीलाई समात्यो । मिडियामा आयो । अब त्यस्तो हो, भने गोरु काट्दा दुईटा क्षेत्री समातिनुले यहाँ हिन्दूराज्य त छ, भन्ने देखाउँछ नि यहाँ । नेपाली समाजलाई भताभुङ्ग बनाउन अनेक किसिमको ऐन कानून बनाएको छ । भोजपुरको अदालतले हेटौडाको एउटा तामाङलाई श्रीमति बलात्कार गरेको अपराधमा ६ महिना जेल, ५० हजार जरिवाना गरेको छ । आफ्नै श्रीमतिलाई बलात्कार गर्नु पर्छ ? नेपाली नारीहरुलाई कस्तो विकृत बनाइदियो ? श्रीमानले सम्बोग गर्दा बलात्कार भन्ने ? इच्छाविपरीतका कार्य नगर्न त नागरिलाई चेतना दिनु पर्दैन । दुनिया कार्यक्रममा पैँसा उडाउँछन् त ? खै सुधार भएको । अनि ऐनमा टेकेर तमासा हेर्ने ? हो यसरी, पाइला पाइलामा विरोधाभाष छ । जसरी हुन्छ नेपालको स्थितिलाई खल्बल्याउने, राष्ट्रलाई ध्वस्त बनाउने अनेक खेल भइराखेका छन् ।
० तपाई यसो भन्नु हुन्छ, अब हामी कहाँ छौँ भनौँ त, प्रजातान्त्रिक मुलुकमा कि अरु कुनै व्यवस्थामा ?
–भन्न त देशले संघीय लोकतान्त्रि गणतन्त्र भनेको छ नि ! तर, अहिले जाडोको सिरक जस्तो, यता तान्यो उता ह्वाङ्ग, उता तान्यो उता ह्वाङ्ग हुन्छ । कहिल्यै च्यातिन्छ । त्यस्तो ।
० अहिले पनि गन्जागोल देख्नु हुन्छ ?
–हो, हामी कहाँ के गरिरहेका छौँ । चेत छैन ।
० भगवान भरोसा नै हो ?
–अब यहाँ, ब्रेक फेल भएको गाडी बडो रेससँग दौडिन्छ नि त ओरालोमा । हाँस्दै,,,,त्यही अवस्था छ अहिले ।