काठमाडौं । मंगलबार ६९औँ प्रजातन्त्र दिवसकाे मूल समाराेह भव्यताका साथ मनाइएको छ । प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र त्यसपछिका आरोह-अवरोह, गाह्रा अफ्ठयाराबारे हामीले भिन्न व्यक्तिलाई भिन्न प्रश्न गरेका छौँ ।
प्रजातन्त्र अर्थात् प्रजातन्त्र दिवसप्रति नेकपाको सैद्धान्तिक दृष्टिकोण के हो ?

-झलनाथ खनाल, नेकपा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री
-प्रजातन्त्र आफैमा एउटा प्रक्रिया हो । एउटा पद्दती हो । यो एउटा सामाजिक आर्थिक संरचना पनि हो । र, प्रजातन्त्र भनिरहँदा यसका धेरै आयामहरु हुन्छन् । यो एउटा बहुआयामिक प्रक्रिया पनि हो । यसको राजनीतिक पक्ष पनि हुन्छ, राजनीतिक प्रजातन्त्र । यसरी नै आर्थिक पक्ष हुन्छ, आर्थिक प्रजातन्त्र । सामाजिक पक्ष हुन्छ, सामाजिक प्रजातन्त्र । सांस्कृतिक पक्ष हुन्छ, सांस्कृतिक प्रजातन्त्र । तब मात्रै प्रजातन्त्र पूर्ण हुन्छ । हामीले हाम्रो देशमा प्रजातन्त्रको लडाई लामो समयदेखि चलाउँदै आएका छौँ । २००७ सालमा हामीले केही हक र अधिकारहरु प्राप्त गरेका थियौँ । त्यही नै सम्पूर्ण प्रजातन्त्र होइन । प्रजातन्त्र प्राप्तिको त्यो थालनी हो । त्यसपछि पनि हामीले झण्डै ७० वर्ष पार गरेका छौँ । यो सिलसिलामा ०६२–०६३ को परिवर्तन सब भन्दा ठूलो परिवर्तनको रुपमा हाम्रो देशमा भएको छ । त्यसपछि हामीले नयाँ संविधान निर्माण गरेका छौँ । नयाँ संविधानले बहुआयामिक प्रजातन्त्रको स्थापना गरेको छ । र, हामी यो प्रजातन्त्रलाई संस्थागत गर्न, यसलाई लिगो जगमा उभ्याउन, समुन्नत बनाउन, हामी प्रतिवद्ध छौँ । यो नै वास्तवमा प्रजातन्त्र हो र, अहिलेको संविधानले प्रजातन्त्रलाई राम्रो ढंगले परिभाषित गरेको छ । हामी यही दृष्टिकोणका साथमा २००७ सालको परिवर्तन । र, ०६२–०६३ को जनक्रान्तिको परिवर्तनलाई पनि हेर्छौँ ।
२००७ के थियो ?
–२००७ साल पनि क्रान्ति नै हो । तर, त्यो असफल क्रान्ति हो । त्यसबेला एक सय चार वर्षको राणा शासन नेपाली जन्ताले फालेका हुन् । तर, ल्याउन पर्ने कुरा ल्याउन सकिएन । फेरि पनि राजतन्त्र त्यसमा स्थापित भयो । फेरि निरङ्कुशता स्थापना भयो । ७ सालमा केही हक र अधिकारहरु प्राप्त भए । ती हक र अधिकारहरु पनि एक दशक पछि, १७ सालमा गएर खोसिए । त्यसैले त्यो पूर्ण रुपले प्रजातन्त्र स्थापना भएको अवस्था होइन । प्रजातान्त्रिक क्रान्ति त भयो, तर क्रान्ति असफल भयो ।

तपाईहरुको पार्टीको नाम नै प्रजातन्त्र पार्टी, प्रजातन्त्र भन्नेवित्तिकै हामीले के सम्झिन्छौँ ?

-डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष, राप्रपा संयुक्त  
–प्रजातन्त्र भन्नेवित्तिकै शासनको वैधानिक आधार जनता हुन् । शासन सत्तामा पुग्नेहरुले जनताकै स्वीकृति लिनु पर्दछ । र, जनताप्रति जिम्मेवार हुनुपर्छ । जनताबाट वैधानिकता पाएर शासनको अधिकार प्रयोग गर्दा आफुअनुकुल गर्न पाइँदैन । कार्यपालिका, न्यायपालिका र विधायिका अथवा संसदबीत शक्तिको सन्तुलन हुनुपर्दछ । संविधान सर्वोच्च हुन्छ । र, संविधानले सबैको शक्तिको व्याख्या गरेको हुन्छ । एक इकाईलाई अर्को इकाइले नियन्त्रण गर्ने शक्तिको सन्तुलन कायम हुनुपर्छ ।

तपाईले भनेको कुराहरु अहिले देख्न पाइन्छ डाक्टसाब । अहिले त हामी गणतन्त्रमा छौँ ?
–संवैधानिक हिसाबले अहिले नेपालमा प्रजातन्त्र छ । प्रजातन्त्र यसकारण कि कार्यपालिका वैधानिक तरिकाले चुनेकै हो । न्यायपालिका छ, विधायिका पनि छ । तर, व्यवहारमा के भएन छ भने, प्रजातान्त्रिक माध्यमद्वारा प्रजातन्त्रको शक्ति सन्तुलनलाई सखाप पार्ने काम अहिले भइरहेको छ ।

तपाइहरुकै भाषा प्रयोग गर्ने हो, भने–हामी फागुन ७ लाई प्रजातन्त्र दिवस भनेर चिन्छौ तर, त्रिभुवन जयन्ती भनेर चिन्दैनौ । अनि, तपाईहरुले जोडतोड गरेजस्तो फागुन ७ मा त्रिभुवन जयन्ती मनाउनु पर्ने कारणहरु के ?


–राजेन्द्र लिङदेन, महामन्त्री एवं सांसद राप्रपा
–जब फागुन ७ गतेको सन्दर्भ आउदछ, त्यो भनेको १०४ वर्षीय जहाँनिया राणा शासन अन्त्य भएको दिनको रुपमा मात्रै यसको सम्झना गरिन्छ । तर, त्यो फागुन ७ गते जहाँनिया राणा शासन अन्त्य हुनुमा राजा त्रिभुवनको नेतृत्व प्रमुख थियो ।
राजा त्रिभुवनको नेतृत्वले नै त्यो प्रजातन्त्र प्राप्तिको आन्दोलनले निर्णायक भूमिका निर्वाह गरेको थियो । राजा त्रिभुवनको नेतृत्वमा भएको प्रजातन्त्र पार्टीको आन्दोलनले २००७ सालमा जहाँनिया राणा शासनको अन्त्य भएको थियो । त्यसैले हामीले फागुन ७ गतेलाई प्रजातन्त्र दिवश संगसंगै त्रिभुवन जयन्तीको रुपमा पनि मनाउनु पर्दछ भन्ने कुराहरु उठाइरहेका छौँ । र त्यही रुपमा स्मरण पनि गछौँ । देशमा प्रजातन्त्र पार्टी भएर महत्वपूर्ण दिनलाई आधार मानेर फेरी पनि विभिन्न मागहरु राखिरहेका छौँ । खास गरी राष्ट्रिय अखण्डतासँग, राष्ट्रिय स्वाधीनतासँग, जनजीविकासँग सम्बन्धित विषय लिएर फागुन ७ गतेबाट हामीले देशव्यापी जनसङघर्षका कार्यक्रमहरु गर्दैछौँ ।

त्रिभुवनको जन्म त फागुन ७ हैन नि ?
हैन, खासगरी जन्मको हिसाबले त पागुन ७ गते हैन तर, राजा त्रिभुवनलाई सम्झने दिनको रुपमा र उहाँको जीवनको, उहाँको कार्यकालको महत्वपूर्ण दिन पनि फागन ७ गते नै हो र प्रजातन्त्र दिवश हो र त्यही दिन उहाँलाई पनि स्मरण गर्नुपर्दछ भन्ने हो ।

सरकारले त सम्झेन नि त्रिभुवनलाई ?
त्यसो गर्दा अपुरो हुन्छ, हामीले जब नेपालको कुरा गछौँ, नेपालको आधुनिक विकासको कुरा गछौँ, नेपालको अखण्डताको कुरा गछौँ । पृथ्वीनारायण शाहलाई विर्सियौँ भने त्यो अपुरो हुन्छ । त्यसैगरी नेपालमा प्रजातन्त्रको कुरा गर्दा त्रिभुवनको योगदानलाई विर्सियो भने त्यो अपुरो हुन्छ ।

प्रजातन्त्र दिवस भन्ने बितिकै विभिन्न मान्छेले विभिन्न धारण राख्छन्, खासमा मधेशले प्रजातन्त्र दिवसलाई कसरी लिन्छ ?


-वृशेषचन्द्र लाल, वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल
–मधेशले प्रजातन्त्र दिवसलाई जहाँनिया शासनविरुद्धको एउटा क्रान्तिको रुपमा लिन्छ । र, पहिलो पटक मधेशमा विभेदबाट मुक्तिको सास मधेशीहरुले २००७ सालमा भएको क्रान्तिदेखि नै फेरेका हुन् । अहिलेसम्म मधेशमा २००७ सालको क्रान्तिको धेरै ठूलो छाप छ, त्यसैले गर्दा यसलाई महत्वपूर्ण दिनको रुपमा र विद्धोहको प्रतिकको रुपमा र जनताले विद्रोह गरेपछि शासनलाई परिर्वतन गर्न सक्छ, भन्ने दिनको रुपमा मधेशका जनताले लिन्छन् । मैले अनुभव गरको छु र अहिले पनि २००७ सालको क्रान्तिलाई देखेका छन् , २००७ सालपछिको परिर्वतनहरुलाई महशुस गरेका छन् । मधेशका जनता जहिलेपनि विभेदमा रहे । त्यतिखेर त विभेद अझ बढीनै थियो । त्यस कारणले त्यो राणाहरुकोविरुद्धमा जुन क्रान्ति भयो त्यसमा मधेशका जनताले एकदम सक्रियतापूर्वक भाग लिए । र, त्यसलाई मुक्तिको सुनौलो विहानीको रुपमा अनुभव गरे । र, त्यसले धेरै परिर्वतन पनि ल्यायो र त्यसलाई अहिलेसम्म महशुस गर्दै छन् मधेशी जनता । अहिलेसम्म नेपालमा भएका परिर्वतनमा मधेशमा सबभन्दा बढी फलदायी कुनचाही परिर्वतन हो भनेर हामीले गहिरेर मुल्याङकन गर्ने हो भने त्यो २००७ सालको क्रान्ति नै हो ।