‘तिम्रो र हाम्रो झट्टै कुरा गर्ने चट्टै छुट्यो फोनको तार, सलाम गरुँ भने विश्वेश्वरले लग्यो टाढैबाट नमस्कार’

काठमाडौं । कांग्रेसको पुराना नेता हुन्, कुलबहादुरु गुरुङ अथवा केबी गुरुङ । २००७ सालको जनक्रान्तिलाई अति निकटबाट चिनेका छन्, उनले । त्याे बेला उनी अहिलेको नागरिकता पाउने उमेर पुगिसकेका थिए । अहिले पनि उनको बोली सुन्दा युवा अवस्थामा कस्तो लडाकु थिए होलानन् भन्ने आश्चर्य लाग्छ ।
प्रजातन्त्र प्राप्तिको संघर्षमा होमिएका उनलाई हामीले प्रजातन्त्र दिवसबारे केही जिज्ञासा राखेका थियौैँ । कुराकानीका क्रममा उनले, ‘२००७ सालको प्रजातन्त्र भनेको जनता आफै स्वतन्त्र भएको दिन हो । त्यो भन्दा पहिले राणाहरुले निर्देशन गर्दा आगे रैतीके भन्थे । हामी रैती मात्रै थियौँ । त्यो भनेको के भने हामी स्वतन्त्र थिएनौँ । रैतीको अर्थ पनि लगाए उनले, ‘आफ्नो भन्ने केही पनि नभएको ।’ सरकारले चाहँदा जे पनि गर्न सक्ने । आफ्नो जग्गा जमिनपनि केही पनि नहुने’ कुरा सुनाए ।

कुरा गर्दै जाँदा उनले बीचैमा भने, ‘म तपाईलाई एउटा कुल्लीले गाएको गीत सुनाउँछु ।’ उनले अगाडि भने, ‘कुल्लीले २००७ को परिवर्तलाई कसरी बुझेछ, भने ‘सलाम गरुँ भने विश्वेश्वरले लग्यो टाढैबाट नमस्कार’ ।’ गुरुङले गीतको पूरै टुक्रा नै सुनाए, ‘तिम्रो र हाम्रो झट्टै कुरा गर्ने चट्टै छुट्यो फोनको तार, सलाम गरुँ भने विश्वेश्वरले लग्यो टाढैबाट नमस्कार’ । उनी भन्छन्, ‘त्यसैले २००७ ले सलामलाई छोडेर नमस्कार ल्याएको छ ।’

अनि, कांग्रेसले २०१६ र २०१७ लाई कसरी सम्झिन्छ ?
हामीहरु त्यसबेला २००७ सम्म जनता थिएनौँ । नागरिक थिएनौँ । रैती थियौँ । हामीहरुको नागरिक अधिकार पनि थिएन । हामीले आफ्नो मनले केही पनि गर्न पाउँदैन थियौँ र बोल्न लेख्न पनि पाउँदैन थियौँ । २००७ सम्म हामी रैती मात्रै थियौँ । त्यसपछि हामी नागरिक भयौँ । नागरिक भएर हामीहरु २०१७ सालसम्म पुग्दा दुर्घटना भयो । २०१७ मा हामीले आफैले सरकार बनाउन सकेको दिन हरण भयो । २०१७ पुस १ गते हामी सबैको नागरिकता हरायो । नागरिक त भयौँ खाली सुन्नको लागि मात्रै । हाम्रो सम्पूर्ण अधिकार हराएर प्रजातन्त्र नै एक किसिमले मासिएको दिन हो, त्यो पुस १ । २०१६ भनेको चैँ, नागरिकले आफ्नो नागरिकता बचाएर आफुले भने अनुसारको सरकार बनाएर देशलाई नै सार्वभौम रुपमा खडा गरेको समय हो । त्यो बेलासम्म के हुन्थ्यो भने इलाममा एक जना कुनै कर्मचारी छ, उसको कुनै एउटा नागरिकसँग झगडा भयो भने अथवा अमिलिमा मुद्दा पर्यो भने कानूनतः ताप्लेजुङ जान नपर्ने । साधारण नागरिक ताप्लेजुङ जानु पर्ने यसरी थिचोमिचो गरेर धेरै कुराहरु हुन्थ्यो । तर, २०१६ सालले त्यो अन्त्य गरिदियो । त्यो वीपी कोइरालाको सरकार थियो । त्यही बेला कर्मचारी भए पनि वा साधारण नागरिक कोही लाप्लेजुङ जानु नपर्ने व्यवस्था गरियो । १६ साल नागरिकहरुले सपूर्ण अधिकार पाएको बेला हो । त्यसपछिका दिन अन्धकार भए । १७ साल त मैले भने नि हरेक नीतिलाई समाप्त पारेर निरङकुशता लादिएको दिन हो । निर्वाचित प्रधानमन्त्री र मन्त्रीसहित सभामुखलाई पनि लगेर थुनियो । ८ वर्षसम्म कुनै पनि आरोप नलगाई राखिएको कालखण्ड १७ साल हो ।