काठमाडौं । तनहुँ हाइड्रो पावर कम्पनीले इटालीको सिएमसी दि राभेना सोसाइट को-अपरेटिभसँग गरेको ठेक्का सम्झौता तोडेको छ । सिएमसीले खरिद सम्झौता अनुसार आयोजना स्थलमा काम सुरु नगरेपछि ठेक्का तोड्न बाध्य भएको कम्पनीका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए । उनका अनुसार गत माघ ४ गते (जनवरी १८) को मितिले २८ दिनभित्र आयोजनास्थलमा काम सुरु गर्न दिइएको आदेश सिएमसीले लत्याएको छ ।

निर्धारित तालिका अनुसार काम सुरु गर्न अटेर गरेकाले आयोजनाका लगानीकर्ता एसियाली विकास बैंक (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र युरोपियन इन्भेष्टमेन्ट बैंक (इआइबी) सँगको सहमतिबाट सम्झौता रद्ध गरिएको पनि उनले बताए । अब चैत पहिलो साताभित्र नयाँ ठेक्का आह्वान गर्ने गरी प्रक्रिया अघि बढाइने थिकेले जानकारी दिए ।

सिएमसीसँगको ठेक्का सम्झौता तोडिएपछि आयोजनाको उत्पादन तालिका पनि प्रभावित हुने भएको छ । ‘ठेक्का आह्वान गरेर सम्झौता गर्न एक वर्षको समय लागेको थियो,’ थिकेले भने,‘त्यही प्रक्रियाबाट नयाँ ठेकेदार छनोट गरेर परिचालन गर्न थोरैमा ६ महिना लग्छ ।’

२०८० मंसिरभित्र विद्युत उत्पादन गर्ने गरी निर्माण सम्पन्न गर्नु पर्ने आयोजना ६ महिना प्रभावित हुँदा जेठसम्म पुग्ने देखिएको हो । सिएमसीसँग गत असोज १५ गते ९१ अक्टोवर २०१८० मा ठेक्का सम्झौतामा हस्ताक्षर भएको थियो । आयोजना निर्माण गर्न २ वटा प्याकेजमा ठेक्का दिइएको थियो । दोस्रो प्याकेज (सुरुङ, विद्युतगृह निर्माण, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडान) ठेक्का चीनको सिनो हाइड्रोले पाएको छ ।

आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याजसहित ) अनुमान गरिएको छ । एडिबी ले १५ करोड अमेरिकी डलर, जाइकाले १८ करोड ४० लाख डलर, इआइबीले ८ करोड ५० लाख डलर र सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख डलर लगानी गर्नेछन् ।