तस्वीर : वेब
काठमाडौ । अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस नेपालमा पनि मनाइँदै छ । राष्ट्रसंघको आह्वानमा हरेक वर्ष फेब्रुअरी २० मा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघ महासभा बैठकले सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो । त्यही अनुसार सदस्य राष्ट्रहरुले प्रत्येक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउँदै आएका छन् ।
नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेसँगै बहुपहिचान र स्वायत्तताको मुद्दा वढी आकर्षित भएको छ । पहिचान र स्वायत्ततासँग सामाजिक न्यायको मुद्दालाई पनि जोडेर हेर्न थालिएको छ । राज्यपुर्नसंरचना पछि पनि नेपालमा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन ठ्याम्मै मिलेको देखिँदैन । कार्यपालिका न्यायपालिका र व्यवस्थापिकालाई नै चुनौती दिने खालका गतिविधि निवारण भएका छैनन् । कार्यसम्पादनलाई लिएर न्यायमूर्तिमाथि नै औँला ठडिने गरेको छ ।
यस्तै, विभिन्न समाजशास्त्री तथा इतिहासविद्ले समाजलाई आ–आफ्नै तवरले व्याख्या गरेका छन् । सामाजिक, आर्थिक र राजनीतिक संकटबाट गुज्रिरहेको नेपालमा सामाजिक न्यायका निमित्त अहिले पनि आवाज उठिरहेको छ । यद्यपि, पछिल्लो समय सामाजिक न्यायका लागि बोल्ने नागरिक समाज कमजोर भएको छ । सामाजिक विभेद र रुढीवाद कम हुँदै कम गएपनि सामाजिक, आर्थिक र राजनीतिक विचलन भने नेपालमा कायमै छ ।