काठमाडौं । भारतले नेपालको एक गैंडालाई साढे दुई वर्षदेखि थुनेर राखेको तथ्य बाहिर आएको छ ।

भारतकै एक दैनिक अखबार ‘जागरण’ले यो तथ्य बाहिर ल्याएको हो । जागरणले उत्तर प्रदेश राज्यस्थित ‘दुधवा टाइगर रिजर्भ’मा नेपालको गैंडालाई थुनेर राखिएको जनाएको छ । दुधवा पार्क प्रशासनसँग कुरा गरेर लेखिएको समाचारमा झण्डै साढे दुई वर्ष अघि भारतीय क्षेत्रमा प्रवेश गरेको नेपाली भाले गैंडा थुनेर राखिएको उल्लेख छ । त्यो गैंडा अहिले प्रजनन् केन्द्रमा छ । ‘फेस–२ परियोजना’ नाम दिइएको गैंडा प्रजनन् अभियानमा नेपाली गैंडा प्रयोग गरिएको छ ।

गैंडालाई अनुवांशिक प्रदूषणबाट जोगाउने उद्देश्यले फरक ‘ब्रिड’ का साथ प्रजनन् अभियान सुरु गरिएको बताइन्छ । सुरुमा अधिकारीहरुले यस्तो प्रजननमा नेपाली गैंडा प्रयोग गर्न थालिएको तथ्यलाई लुकाएका थिए । जागरणका अनुसार एउटै गैंडाको सन्तानबाट अनुवांशिक प्रदूषण अन्त्य गर्न नसकिने भन्दै विज्ञहरुले उक्त अभियानकै विश्वसनीयतामा प्रश्न उठाएपछि अधिकारीहरुले प्रजनन् अभियानमा नेपाली भाले गैंडालाई सामेल गरिएको र उक्त गैंडालाई करिब अढाई वर्षअघिदेखि थुनेर राखिएको खुलासा गरेका हुन् ।

भारतीय अधिकारीहरुले नेपाली गैंडा आफुहरुले राखेको तथ्य बाहिर ल्याउँदा नेपालले आपत्ति जनाउन सक्ने र गैंडा फिर्ता लैजान सक्ने कुरालाई ध्यानमा राखेर यो मामिला ‘गुपचुप’ राखेको अखबारले लेखेको छ ।