काठमाडौं । जल तथा मौसम पूर्वानुमा महाशाखाले पश्चिममा आंशिक बदली तथा मध्य र पूर्वका पहाडी क्षेत्रमा वुधबार आंशिक बदली हुने जनाएको छ ।
अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पश्चिमका प्रायः सबै क्षेत्रको मौसम आंशिक बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना छ । मध्य क्षेत्रका पहाडी भेगमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पूर्वको पहाडमा भने मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना देखिएको छैन । काठमाडौँ उपत्यकामा बिहानैदेखि घाम लागेको छ । दिउँसो आंशिक बदली भए पनि पानी पर्ने सम्भावना भने नरहेको जनाइएको छ । पश्चिम तथा मध्य क्षेत्रको उच्च पहाडमा हल्का हिमपातको सम्भावना छ ।