काठमाडौं । भारतीय आयल निगमको रक्सौल डिपोबाट पेट्रोल र डिजेल भररेर आएका ट्याङ्करमा पानी र लेदो भेटिएको छ । आईओसीबाट तेल भरेर आएका प्रत्येकजसो ट्याङ्कीमा पानी र लेदो भेटिएको हो ।

ट्याङ्कर चालक मनोज ठाकुरले रक्सौलबाट तेल भरेर वीरगञ्ज ल्याएर नेपाल आयल निगमको कर्मचारीकै अगाडि चेक गर्दा डिजेलमा पानी देखिएको बताए । ‘हामीले सँधै जस्तै रक्सौलबाट डिजल ल्यायौं, तर वीरगञ्जमा आएर डिजेल निकालेर हेर्दा डिजलमा पानीको मात्रा देखियो,’ उनले भने, यस्तो कहिले पनि भएको थिएन । आज देखिएको छ ।

ट्याङ्कर चालक ठाकुरले श्री आयल वीरगञ्ज, जीतपुरको गोदावरी आयल र वैदेही आयलका लागि डिजेल ल्याएका थिए । तर, डिजेलमा शंका लागेपछि ठाकुरले ट्याङ्कर सोझै आयल निगमको वीरगञ्ज कायालय लगे ।

रक्सौलबाट तेल भरेर आएका दर्जनौं ट्ंयाङ्कर आयल निगमको वीरगञ्ज स्थित कार्यालय वरपर नै राखिएको छ । डिजेलमा मिसावट गरिएको भेटिएपछि केही दिन पहिले जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको अनुगमन टोलीले बोलबम पेट्रोल पम्पमा शिलबन्दी गरी नमुना परीक्षणका लागि सम्बन्धित कार्यालयमा पठाएको थियो । त्यसपछि पेट्रोलियम ढुवानी व्यवसायी र पेट्रोल पम्पका सञ्चालकहरु सतर्क भएका छन् । तर, अहिले ल्याइएको पेट्रोल डिजेलमा पनि त्यस्तै समस्या देखिएको उनीहरुको गुनासो छ ।