काठमाडौं । हिन्दीका प्रख्यात समालोचक तथा साहित्यकार नामवर सिंहको निधन भएको छ । ९३ वर्षीय नामवरको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।

केही हप्ताअघि उनलाई एम्समा भर्ना गरिएको थियो । जनवरीमा उनी आफ्नै कोठामा लडेपछि ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । चिकित्सकले उनलाई ब्रेनह्यामरेज भएको, भनेका थिए । स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताइएपनि एकाएक चिकित्सकले अप्रिय खबर सुनाए ।

उनको वुधबार दिल्लीमा अन्तिम संस्कार गरिने परिवारका सदस्यले बताएका छन् । सन् १९२७ को जुलाई २८ मा वाराणसीको जीयनपुर गाउँमा जन्मिएका उनले बिएचयुबाट हिन्दी साहित्यमा एमए तथा पिएचडी गरेका थिए । उनले धेरै वर्ष बिएचयूमा अध्यापन गराए । त्यसपछि सागर तथा जोधपुर विश्वविद्यालयमा पनि अध्यापन गराए । सिंह त्यसपछि दिल्लीको जेएनयु पुगे । र, त्यहिँबाट अवकास लिए ।

साहित्य एकेडेमी सम्मान पाएका सिंहले हिन्दी साहित्यमा समालोचनालाई नयाँ आयाम र उचाई दिएका थिए । हिन्दी साहित्यका ठूला समालोचक मध्येका आचार्य रामचन्द्र शुक्लबाट सुरु भएको परम्पराको नामवरले आलोचना गरेका थिए ।

अध्यापन तथा लेखनसहित सिंहले जनयुग र आलोचना नामक हिन्दी भाषाका दुई पत्रिकाको सम्पादन पनि गरे । उनले सन् १९५९ को लोकसभा चुनावमा चकिया–चंदौलीबाट भारतीय कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए । पराजित भएपछि उनले बिएचयू छोडेका थिए । –एजेन्सीको सहयोगमा