काठमाडौं । सरकारले ६ जना सचिव सरुवा गरेको छ । यही मेलोमेसोमा सरकारले एक जना सहसचिवको बढुवा र पदस्थापन समेत गरेको छ ।

सरकारले पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवको सरुवा गरेको हो । देवकोटालाई पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय सारिएको छ । पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा आइपुगेका छन् ।

पछिल्लो समय चर्चामा रहेका सचिव गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ ।

खानेपानी मन्त्री बिना मगरसँग ठाकठुक परेपछि उनी सरुवामा परेका हुन् । कुराटे भनी चिनिएका ठाकुरले मन्त्री मगरले आफूलाई अनियमित रुपमा काम गर्न दबाव दिएको आरोप लगाएका छन् । तर, जलस्रोतमा कलम चलाउँदै आएका पत्रकार विकास थापाको कुरालाई आधार मान्ने हो भने, मेलम्ची खानेपानी आयोजनालाई अस्तव्यस्त बनाउन ठाकुरकै हात छ ।

ठाकुरको सरुवापछि दीपेन्द्रनाथ शर्मालाई खानेपानी सचिव बनाइएको छ । शर्मा यसअघि प्रधानमन्त्री कार्यालयमा थिए । नेपाल ट्रष्टमा सचिव पद रिक्त थियो ।

यस्तै, प्रधानमन्त्री कार्यालयका अर्का सचिव रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साललाई प्रधानमन्त्री कार्यालय तानिएको छ ।

सरुवाकै छेकोमा बढुवा हुने भाग्यमानी भने सहसचिव सूर्य गौतम हुन् । उनलाई सचिवमा बढुवा गरेर महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ ।