धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलाका हत्यारा पत्ता लगाएरै छोड्ने आश्वासन दिएका छन् । वुधबार सुदूरपश्चिम प्रदेशको संसदलाई सम्बोधन गर्दै ओलीले निर्मलाको हत्यारा पत्ता लगाएरै छोड्ने आश्वासन दिएका हुन् । प्रदेशसभा सम्बोधनका क्रममा उनले भने, ‘हाम्री चेलीबेटीको यसरी हत्या हुनु अत्यन्त दर्दनाक कुरा हो । अत्यन्त दुःखद कुरा हो ।’

प्रधानन्त्रीले निर्मला हत्याको अनुसन्धान कहाँ पुग्यो भन्ने कुरा भने भनेनन् । तर, प्रयास जारी रहेको उनले सुनाए । अनुसन्धान जारी छ । केन्द्रबाट खटिएको प्रहरी टोली कञ्चनपुरमै छ । प्रधानमन्त्रीले भनेका छन्, ‘कहिले काहीँ अपराधीले प्रमाण छोडेर जाँदैन । सरकारले हत्यारा पत्ता लगाएरै छोड्छ ।’ सरकारले गठन गरेको उच्चस्तरीय समितिले निर्मलाको हत्यामा एउटा समूहकै संलग्नता रहेको औँल्याएको थियो । यो, कुरा गृहमन्त्री रामबहादुर थापाले संसदमै सुनाएका थिए ।

राजधानीको निर्णय उपयुक्त
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश राजधानीबारे प्रदेशसभाले गरेको निर्णय उपयुक्त भएको बताएका छन् । उनले, ‘राजधानी सार्ने जुन निर्णय तपाईहरुले गर्नु भएको छ त्यो उपयुक्त छ, त्यसलाई सार्नै पर्छ । तर, त्यसमा लगानी गर्न आवश्यक छ, भने ।

यस्तै, प्रधानमन्त्री ओलीले विप्लव माओवादीको क्रियाकलाप मुलुक र जनताको हितप्रतिकुल रहेको टिप्पणी गरेका छन् ।