वीरगञ्ज । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच जुहारी चलेको छ । त्यो पनि होटलको उदघाटन कार्यक्रममा ।

वीरगञ्जमा खुलेको होटल दियालो एण्ड लर्डस प्लाजाको उद्घाटन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसले आफ्नो गल्ती, कमी कमजोरी सुधार्नुपर्ने सुझाव दिए । जवाफमा सभापति देउवाले आफ्नो कमी कमजोरी ढाकछोप गर्न प्रतिपक्षी दललाई गाली गर्ने भनी, मुख फर्काए ।

‘संघीय र प्रदेश दुवै सरकारमा फोरम नेपाल छ, सत्ताको स्वाद उहाँहरुले लिइरहनु भएको छ’, मुख्यमन्त्री राउतको अभिव्याक्तिप्रति लक्षित गर्दै देउवाले भने, ‘सरकारले राम्रा काम गर्न सकेन । तर, सत्तारुढ दल कांग्रेसले यो गरेन त्यो गरेन भनेर गाली गर्न मै व्यस्त छन् ।’

दुईतिहाइको सरकारको दम्भ र अधिनायकवादका कारण लोकतन्त्र खतरामा परेको कुरा उनले फेरि सुनाए । लोकतन्त्र खतरामा रहेको कुरा उनले चुनाव ताकानै प्रयोग गरेका थिए । ‘प्रजातन्त्र र लोकतन्त्रका लागि कांग्रेस २००७ सालदेखि नै लड्दै आएको छ’ देउवाले अगाडि भने, ‘खतरामा परेको लोकतन्त्र जोगाउन जस्तोसुकै संघर्षका लागि कांग्रेस तयार छ । लोकतन्त्र र प्रजातन्त्र कांग्रेसका लागि जीवनमरणको सवाल हो, त्यसैले लोकतन्त्रमाथि कहीँ कतैबाट हस्तक्षेप वा आक्रमण भए हामी चुप लागेर बस्न सक्दैनौँ ।’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई आफना गल्ती कमजोरी सुधार्न सुझाव दिएका थिए । ‘कांग्रेसले चाह्यो भने यो मुलुक समृद्ध बन्नबाट कुनै शक्तिले रोक्न सक्दैन’, उनले भने,‘तर कांग्रेसले विगतका गल्ती र कमजोरी सुधार्नुपर्छ ।’

देशको सत्ता सम्हालेकाले आफनो रवैया नसुधारे मुलुक फेरि द्वन्द्वमा फस्ने निश्चित रहेको पनि मुख्यमन्त्री राउतले बाए । ‘आफुलाई देशको ठेकेदार ठान्नेले संविधान कार्यान्वयनमा बेइमानी गरिरहेका छन् । उनीहरुको रवैया यस्तै रहयो भने मुलुक फेरि ठूलो द्वन्द्वमा फस्ने निश्चित छ ।’