काठमाडौं । कुनै समय नेपाली चलचित्र जगतमा निश्चिल बस्नेत निर्देशित चलचित्र ‘लूट’ले उधुम गरेको थियो । केही दिन यता, जता गएपनि ‘लुट्न सके लुट्’ (पशुपति शर्माको व्यंग्यात्मक गीत)को चर्चा छ । हुँदा–हुँदा देशको कार्यकारी अथवा प्रधानमन्त्रीले नै पशुपति शर्माको ‘लुट्न सके लुट्’लाई आफ्नो भाषणको मसला बनाए, त्यो पनि प्रदेशसभाको सम्बोधनमा ।
उनले त्यही गीतलाई लक्षित गर्दै ‘हामी नचाहिँदो कुरामा उत्ताउलियौँ’ भने । पशुपति शर्माको गीतमा सत्ताधारी दल नेकपा निकट भ्रातृ संगठनले विवाद झिकेका हुन् । यो कुरामा त्यो संगठनका जिम्मेवार नेता अथवा माउपार्टीका प्रवक्ता वा आधिकारिक व्यक्तिले बोल्नु पर्ने थियो । लेखक तथा साहित्यकार राजेन्द्र थापाको कुरालाई मान्ने हो भने, ‘यो विवाद भ्रातृ संगठनले झिकेका हुन्, उनीहरुले यसो गर्नु अराजकता हो ।’ थापाका अनुसार यसमा सरकार जोडिनु हुँदैन ।
तर, प्रधानमन्त्री स्वयंले त्यो विषय जननिर्वाचित प्रदेशसभामा बोलिसकेपछि अब यो विषय भ्रातृ संगठनमै सिमित भयो भन्न मिल्दैन । अब यसमा सरकार पनि मिसियो । कुनै नेताले भाषण गरेको होइन, देशको प्रधानमन्त्रीले, सत्ताधारी पार्टीको अध्यक्षले । कुनै कोठे बैठकमा होइन, जननिर्वाचित संसदमा बोलेको कुरा आधिकारिक मान्ने कि नमान्ने ? त्यो त पार्टी र सत्ताको शीरमा बसेकाहरुले जान्ने कुरा हो । सर्वसाधारणलाई यस्ता कुरा के थाहा ?
यहाँनेर भन्न खोजिएको कुरा एउटा मात्रै हो, सरकार प्रतिक्षी जस्तो किन प्याट प्याट्ती मुख फर्काउँछ । अनि ढाकछोपमा किन दलबल, धन दौलत र अमूल्य समय खेर फाल्छ । मुलुक पछौटेपनमा परिरहने छुट छैन भनेर भाषण गरेको पशुपति शर्माले होइन, केपी शर्माले हो । सरकार कुनै दलविशेषको हुनु हुँदैन सर्वमान्य सिद्धान्त हो । तर, आफ्नै दलका कार्यकर्ताको बचाउमा यति धेरै लगानी किन ?
हामीले लेखेको कुरालाई पूर्वाग्रह नमान्ने हो, भने अहिले सरकारले गरिरहेका राम्रा कामलाई किन सबै नागरिकले खुलेर समर्थन गर्दैनन् । सरकारले गरेका राम्रा कामको प्रचार गर्न कार्यकर्ता परिचालन गर्नु पर्छ र ? अनि सरकारको रक्षापंक्ति बलियो बनाउन सरकारी ढुकुटीको रकम खर्च गरेर पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनु पर्छ र ? के जनताले राम्रा काम चिन्दैनन् ? धेरै परका कुरा गर्नै पर्दैन । आफैले गलत्याएर फालेका राजाको तीर्थाटनमा किन मान्छे घण्टौँ माला बोकेर कुरी बस्छ ? शिक्षाविद् प्रध्यापक डाक्टर विद्यानाथ कोइराला त्यसै भन्दैनन्, ‘राम्रो चीजको प्रचार गर्नु पर्छ र ?, प्रचार गर्नु पर्ने कुहिएको चीज विकाउन हो ।’
सरकार आम नागरिकको अभिभावक हो भन्ने कुरा सम्झाइरहनु पर्छ र ? सरकार यति सामान्य कुरा किन मनमा लिन सकिरहेको छैन । जति चाँडै पशुपति शर्माको गीत नशानशामा सवार भयो । यहाँनेर पशुपति शर्माले जे गरे त्यो ठीक छ भन्न खोजिएको पटक्कै होइन । मुख्य सवाल होः सरकारी ढुकुटी खर्च गरेर पार्टीका आन्तरिक काममा देश दौडाह गर्नुलाई के भनि अथ्र्याउने ?
आफ्नो आङ्को को नि के नदेख्ने अर्काको आङमा जुम्रा पो छ कि भनेर शंका गर्ने नेपाली उखान चरितार्थ भइरहेको छ, सरकारको हकमा । हत्तै मान्छेले थाहा पाइहाल्दैनन् भन्ने सोंच विद्यमान छ, सरकारमा बस्नेहरुमा । त्यसको पुष्ट्याइँका लागि धेरै पर पुगिरहनु पर्दैन, प्रधानमन्त्रीसहित सुदूरपश्चिम टुरमा निस्किएको लावालस्करलाई हेरे पुग्छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली दाताले बनाइदिन लागेको सडक शिलान्यास गर्न डोटी पुगे, हेलिकोप्टरमा । त्यसपछि उनी डडेल्धुरा हानिए, स्याउले बजारनजिकै निर्मित १३२ केभी सबस्टेसन उद्घाटन गर्न । मंगलबारै उनी सुदूरपश्चिमको प्रदेश राजधानी धनगढी हानिए । वुधबार उनले पूर्वनिर्धारित कार्यक्रम अनुसार सुदूरपश्चिमको प्रदेशसभालाई सम्बोधन गरे ।
उनको यो कार्यक्रम बाहेक अन्य सबै कार्यक्रम छेको पारेर मिलाइएका रहेछन् । त्यो कुरा यसरी पुष्टि हुन्छ । हेरौँ केही विवरण ।
नेकपाका एक जना खाटी कार्यकर्ताले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खास पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई तार्गेट गरेर आउनु भएको हो, भने ।
उनले यत्तिकुरा चुहाएपछि हामीले यस विषयमा अरु सोध खोज गर्यौँ।
सोध खोजबाट यस्ता तथ्य आए:
–मंगलबार प्रधानमन्त्रीले शिलान्यास गरेको सडक दाताले बनाइदिन लागेको (सहजपुर–वीपीनगर–बागछेडा–बोगटान) सडक हो ।
–५० किलोमिटर
–लागत २ अरब
–पैँँसा एक्जिम बैंकको
–दाता भारत
–केन्द्रको आयोजना, सडक विभागले हेर्ने
–प्रधानमन्त्रीलाई डोटी लैजाने भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, पूर्वाधार सचिव मधुसुदन अधिकारी र सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ
–साथमा उर्जामन्त्री वर्षमान पुन पनि
उर्जामन्त्रालयले पनि छेको पारेको
–पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रधानमन्त्री ओलीले १३२ केभी सबस्टेसन उद्घाटन गरे ।
–लागत ४५ करोड पाँच लाख ११ हजार ३८ रुपैयाँ ६७ पैँसा ।
–इष्ट इन्डिया उद्योग र वाईबा इन्फाटेक जेभीले निर्माण गरेको ।
–सबस्टेसनमा ३० एमभीए क्षमताको १३२–३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ८ एमभीए क्षमताको ३३–११ केभीको एउटा वितरण टान्सफर्मर गरि दुईवटा ट्रान्सफर्मर राखिएका छन् ।
–यही कार्यक्रममा प्रधामन्त्रीले पश्चिम सेती आफ्नै कार्यकालमा सुरु हुने घोषणा गरे ।
उद्देश्य अर्कै–पार्टी प्रशिक्षणका लागि
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरु धनगढीमा वुधबार भएको प्रदेशस्तरीय प्रशिक्षण तथा कार्यकर्ता भेलामा सहभागि हुन सुदूरपश्चिम कुरा छ । झट्ट हेर्दा सडक आयोजनाको शिलान्यास, सबस्टेशनको उद्घाटन र प्रदेशसभालाई सम्बोधन जस्ता जनपक्षीय कार्यक्रम देखिए पनि, भित्रि उद्देश्य अर्कै देखियो, पार्टी कार्यकर्ता प्रशिक्षण । छेको पारेर सबै कार्यक्रमको तालिका मिलाइएको तथा डिजाइन गरेको देखियो ।
यो कुरा पार्टीका अर्का अध्यक्ष प्रचण्डले बोल्दा पनि फुत्काई हाले । प्रचण्डले भने, ‘यो कार्यक्रम पहिले नै हुनु पर्ने थियो । तर, कसोकसो गरी अहिले मेसो मिल्यो । अहिले यसरी भव्य कार्यक्रम गर्नु भएकोमा आयोजकलाई धन्यवाद ।’ प्रचण्ड समेत वुधबार मात्रै होइन रहेछन् । उनी मंगलबारै धनगढी पुगेका । उनले अगाडि भने, ‘यहाँ आएसी धेरै साथीहरुका धेरै कुरा सुने । धेरै जनासँग हिजो पनि कुरा भयो । आज विहान पनि धेरैका कुरा सुने ।’ यसको अर्थ पार्टीको कार्यक्रमका लागि मेलोमेसो मिलाएकाले प्रचण्डले धन्यवाद दिनै पर्ने भो । केही हदसम्म पार्टीको खर्च जोगिएकामा स्वावासी नदिई भएन ।
चक्कर काट्न सेनाको हेलिकोप्टर
–प्रधामन्त्रीसहितको लावालस्कर नेपाली सेनाको एमआई–१७ मा डोटी पुग्यो ।
–डोटीबाट डडेल्धुरा हानियो ।
–डडेल्धुराबाट चक्कर काट्दै कैलाली ।
–एनए–०५६ मा १२–१८ जना अटाउँछन् ।
–यो हेलिकोप्टर चाटर्ड गर्दा खर्चिलो छ ।
–काठमाडौँबाट धनगढी मात्रै पुग्ने हो भने १० देखि ११ लाख आतेजाते लाग्छ ।
–प्रधानमन्त्री, मन्त्री, नेता तथा सांसद, कर्मचारी काठमाडौंबाट धनगढीसम्म श्री एयरलाइन्सको हवाईजहाजमा गए पनि । सेनाको हेलि काठमाडौँबाटै उडेको हो । पछि त्यो हेलि मन्त्रीहरुले जताजता उदघाटन गर्न लगे उतै उतै चक्कर काट्यो ।
–यसको अर्थ सडकको उद्घाटन र सबस्टेशनको उद्घाटनमा हेलिकोप्टर चार्टर, प्लेन भाडा र होटल एण्ड लजको खर्च अनावश्यक हो भन्ने होइन । तर, पार्टीको कार्यक्रमका यतिधेरै डिजाइन किन गरिएको भन्ने साधारण हुन सक्दैन । विचारयोग्य हो ।
खर्च कसले व्यहोर्ने हो भन्ने खुलेन
सेनाका प्रवक्ता गोकुल भण्डारीले सेनाको हेलिको खर्च अफिसियल भए सरकारले व्यहोर्ने, अनअफिसियल भए लैजानेहरुले व्यहोर्ने हो भने । उनले मंगलबार प्रयोग भएको हेलि काठमाडौँबाट उडेपनि कसले मागेको हो, भन्ने आफुलाई जानकारी नभएको बताए । प्रधानन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले सडकको उद्घाटन गर्न भौतिक पूर्वाधारमन्त्रीले लगेका हुन् र उर्जाको पनि मन्त्रीले नै मिलाएर लगेका होलान् भने । तर, भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले त्यो आयोजना सडक विभागले हेर्ने हो, उतैबाट खर्च व्यहोरिएको होला भन्दिएपछि धेरै सोधिरहनै परेन । सडक विभागमा भने प्रवक्ता छैनन् । सहायक प्रवक्तालाई जानकारी भएन । महानिर्देक प्रधानमन्त्रीसँगै गएका छन् ।
प्रदेशसभाको सम्बोधनको कार्यक्रम भने पूर्वनिर्धारित थियो । मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन ४ गते काठमाडौं पुगेर प्रधानमन्त्रीलाई सम्बोधनका लागि निमन्त्रणा दिएका थिए । यस सन्दर्भमा पनि नेपालको संविधान, ऐन कानूनले सरकार प्रमुख र राष्ट्र प्रमुखले कुनै प्रदेशसभामा सम्बोधन गर्ने व्यवस्था छैन । विदेशी सरकार प्रमुखलाई सम्बोधनको सुविधा भएपनि सम्बन्धित प्रदेशको प्रदेश प्रमुखसँग अनुमति लिनुपर्ने व्यवस्था छ । केन्द्रमा राष्ट्रपतिलाई संकटकाल लगाउने संक्रमणकालीन अधिकार भएजस्तो प्रदेशमा पनि संवेदनशील विषयमा निर्णय लिने हैसियत राख्ने प्रदेश प्रमुखले त्यसरी अनुमति पनि नदिन सक्छन् । यी सबै गतिविधि हेर्दा उद्घाटन गर्ने बहानामा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने र सरकारका कामको प्रचारका लागि अधिक संयन्त्र प्रयोग गरिनुलाई के भन्ने ?