काठमाडौ। अन्तर्राष्ट्रिय मातृभाषा दिवस, भाषिक विविधता रहेको नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । सन् २००० देखि संयुक्त राष्ट्र संघले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई वहुभाषिक र वहुसांस्कृतिक जनसंख्या तथा त्यो जनसंख्यासँग जुटेका विविध भाषाको कदर गर्न हरेक वर्ष फेब्रुअरी २१ का दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन आह्वान गरेको थियो ।

विश्वव्यापी रूपमा मातृभाषाको महत्व र यसको संरक्षणबारे जनचेतना फैलाउन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने गरिएको छ । सन् २००२ मा यही दिन लोप हुन लागेका करीब तीन हजार भाषाप्रति मानिसको ध्यानाकर्षण गराउने कार्यको औपचारिक सुरुवात भएको थियो । त्यही वर्ष युनेस्कोले ‘यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्’ भन्ने नारा दिई लोप हुनलागेका भाषाबारे अध्ययन अनुसन्धान गर्न व्यूँझाएको थियो ।

अहिले भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएको छ । उबेला भारतबाट पाकिस्तान छुट्टिएपछि अहिलेको बङ्गलादेशलाई पूर्वि पाकिस्तान भनिन्थ्यो । सन् १९५२ मा बङ्गाली भाषाको औपचारीक प्रयोगकालागि बङ्गाली युवाहरुले गरेको प्रदर्शन र त्यसमा मारिएका भाषाप्रेमी शहीदको सम्झना स्वरुप पनि यो दिवस मनाइन्छ ।
सम्झिनै पर्ने कुरा भारत र बङ्गलादेश यस्ता देश हुन जसको राष्ट्रिय गान एकै व्यक्तिले रचना गरेका थिए, पण्डित रविन्द्रनाथ टेगौर । यसले राष्ट्रिय पहिचानको मूलस्तम्भ अथवा खम्बा भाषा हो भन्ने जनाउँछ । यसरी एउटै कविले दुई छुट्टा–छुट्टै नेशन अथवा राष्ट्रियता भएका मुलुकको राष्ट्रिय गान लेखेको यो दुर्लभ उदहारण हो, अन्यत्र नरहेको बताइन्छ ।

नेपालको सन्दर्भमाः नेपालीको मूल पहिचान भाषा हो । संस्कृतिविद सत्यमोहन जोशीका अनुसार नेपालको पहिचान भाषा र संस्कृति मात्रै हो । यस्तै, लेखक युवराज नयाँघरे पनि नेपालको पहिचान भाषा र संस्कृति हो, भन्छन् ।

भाषाका हिसाबले नेपाल एउटा फुलवारी हो । जहाँ बहुभाषा र बहुभेष छन् । चाहे राई, लिम्बु, गुरुङ, शेर्पा लगायतको ‘ल्हासो’, फ्याफुल्ला, सेवारो आदि इत्यादी अथवा नेपाल भाषाको जोजोलोपा, तारेमाम किन नहोस् । अनि, अरबी भाषाको ‘सलाम वालेकुम’या नेपाली भाषाको ‘जदौ’ नमस्कार । अंग्रेजीको नमस्ते । अनेकतामा एकता छ । जसको मतलब एउटै छ, सत्कार । पछिल्लो समय नेपालको संविधान, ऐन कानूनले मातृभाषाको प्रयोगलाई फराकिलो बनाईदिएको छ । यद्यपि, मुलुकको संघीय संरचनाको ढाँचामा स्थानीय तहभित्र विशेष संरक्षित तथा स्वायत्त क्षेत्र भने तोक्न सकिएन । जहाँ विशेष संरक्षित क्षेत्र ठहरिन भाषाभाषी एउटा मानक अथवा आधार हुनसक्थ्यो ।