काठमाडौं । मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरिकतै नक्कली भेटिएपछि संवैधानिक परिषदको सिफारिसमा फेरि विवाद आएको छ ।

परिषदले यसअघि सिफारिस अख्तियारका पूर्वआयुक्त लोकमानसिंह कार्की, आयुक्त राजनारायण पाठक र प्रधानन्यायाधीश गोपाल पराजुली विवादकै कारण कार्यकाल नसकिँदै बाहिरिनु परेको थियो ।

अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी संसदीय सुनुवाई समितिमा परेको थियो । सुनुवाई समितिले संवैधानिक परिषद्लाई अन्सारीको सबै प्रमाणपत्र माग गरेको छ भने जिल्ला प्रशासन कार्यालयलाई नागरिकतासम्बन्धी सबै विवरण उपलब्ध गराउन भनेको छ । यस्तै, अन्सारी राजनीतिक दलको सदस्य भएको समेत उजुरी परेपछि निर्वाचन आयोगलाई सत्तारुढ दल नेकपाको केन्द्रीय समिति सदस्यहरुको सूची माग गरिएको छ ।

मुस्लिम आयोग सम्बन्धी ऐनमा आयोगको अध्यक्षको योग्यता १० वर्ष मुस्लिम समुदायको हकहितमा काम गरेको, राजनीतिक दलको सदस्य नरहेको, ४५ वर्ष उमेर पूरा गरेको, उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था छ ।

प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदको माघ ६ गते बसेको बैठकले मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेका अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको, पार्टीको सदस्यता कायमै रहेको भन्दै संसदीय सुनुवाई समितिमा उजुरी परेको छ ।

प्रारम्भिक अध्ययनका क्रममा समिमले संवैधानिक परिषदमा पेश गरेको नागरिकता र सरकारी ढड्डामा भएको तथ्यांक मिलेन । समिमले संवैधानिक परिषदमा पेश गरेको आफ्नो नागरिकताको फोटोकपीमा जन्ममिति २०३६ साल असोज २० गते र स्थायी ठेगाना काठमाडौं–९ उल्लेख गरिएको छ । ०५५ पुस २२ गते नागरिकता बनाएका उनले पेश गरेको नागरिकता पछि ‘प्रतिलिपि लिएको पाइएको छ ।

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त कागजात भने फरक छ । नागरिकता बनाएको मिति मिलेको छ । जन्ममिति २०३० साल असोज २४ गते उल्लेख छ । साथै स्थायी ठेगाना काठमाडौं–१९ उल्लेख गरिएको छ ।

जिप्रकामा भएको ढड्डामा २०३० लेख्दा शून्यमा केरमेट जस्तो गरिएको छ । काठमाडौं महानगरका तत्कालीन उपप्रमुख विदुर मैनालीले नागरिकताका लागि गरेको सिफारिसमा पनि जन्ममिति २०३० साल असोज २४ गते स्थायी ठेगाना काठमाडौं–१९ नै छ ।

जिप्रकामा भएको ढड्डा र समिमले पेश गरेको नागरिकताको फोटोकपी दुबैमा उनको नागरिकता जारी गर्ने सीडीओको नाम उल्लेख छैन । उनीसँग भएको नागरिकतामा पनि जारी गर्ने सीडीओको नाम उल्लेख गरिएको छैन, हस्ताक्षर मात्र छ । संसदीय सुनुवाई समितिका सदस्यहरु ‘उनको नागरिकता र शैक्षिक प्रमाणपत्र दुबै नक्कली भएको देखिन्छ, भनिरहेका छन् । समितिमा रहेका नेकपाका सांसदहरुनै अन्सारीलाई अस्वीकृत गर्ने पक्षमा उभिइका छन् ।