काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बर्दियाको ठाकुुरबाबामा निर्माण सम्पन्न १३२/३३/११ केभी भुरीगाउँ सबस्टेसन चार्ज गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सबस्टेसनको उद्घाटन गरेर संचालन गराएका छन् ।

नेपाल सरकार र प्राधिकरणको सयुक्त लगानी तथा एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सम्पन्न भएको सबस्टेसन बिहीबार चार्ज गरिएको हो । २७ करोड ९० लाख रुपैयाँ लागतमा निर्माण भएको सबस्टेसन चार्ज भएपछि जिल्लाको विद्युत वितरण प्रणालीमा सुधार हुने मन्त्री पुनले बताए ।

१३२/३३ केभीमा ३० एमभिए र ३३/११ केभीमा ८ एमभिए क्षमताको पावर ट्रन्सफर्मर जडान गरिएको छ । सबस्टेसनबाट ११ केभी लाइनको भुरीगाउँ बजार र ठाकुरद्वार फिडर तथा ३३ केभी लाइनमा गुलरिया फिडर सञ्चालन हुने प्राधिकरणले जनाएको छ । ११ केभी फिडर तयारी अवस्थामा छन् । ३३ केभी गुलरिया फिडर निर्माणाधीन छ ।

सबस्टेसन सञ्चालन भएपछि वितरण प्रणालीमा सुधार भई विद्युत सेवा गुणस्तरीय भएको प्राधिकरणले जनाएको छ । यसअघि ३५ किलोमिटर टाढाको ३३/११ केभी गुलरिया सबस्टेसनबाट ११ केभी फिडरमार्फत भुरीगाउँ क्षेत्रमा विद्युत आपूर्ति हुँदै आएको थियो । लामो दुरीबाट तानिएको लाइनबाट चुहावट हुने, लाइन ट्रिप हुने, भोल्टेजको कमी जस्ता समस्या थिए ।