काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले आफूलाई दिएको काम पूरा गर्न थप समय मागेको छ । सचिवालय सदस्य रामवहादुर थापाको नेतृत्वमा गठित कार्यदलले आफूलाई दिइएको १५ दिने दिने समय सीमा गुजारेर पटक–पटक म्याद थप्न लगाएको छ । करिब डेढ महिनासम्म पनि कार्यभार पूरा गर्न नसकेपछि हस्तक्षेप तयारी भइरहेकै बेला केन्द्रीय सचिवालयले बोलाएको संयुक्त बैठकमै कार्यदलले थप समय मागेको हो ।

बैठकमा सहभागि कार्यदल सदस्य बेदुराम भुषालका अनुसार विहिबारको बैठकमा कार्यदलका तर्फबाट सुरेन्द्र पाण्डे र उर्जामन्त्री वर्षमान पुन बाहेक सबै सदस्यले पार्टी एकता प्रक्रियामा देखिएका तगारो हटाउनेबारे सचिवालयलाई ब्रिफ गरे ।

कार्यदलमा पाण्डे, पुन, भुषालसहित गृहमन्त्री रामबहादुर थापा बादल, पार्टी महासचिव विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र प्रदेश ५ का मुख्यन्त्री एवं पार्टी प्रदेश इन्चार्ज शंकर पोखरेल, योगेश भट्टराई र लेखराज भट्ट छन् ।

कार्यदलका सदस्यहरुको धारणा सुनिसकेपछि एकताबारे छलफल गर्न आवश्यक भएको भन्दै उनीहरुलाई पठाएर सचिवालय सदस्यले केहीबेर छलफल गरे । तर, निष्कर्ष निस्किएन । बैठक शुक्रबार फेरि बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी समिति बैठकबाट पुस १३ गते गठित ९ सदस्यीय कार्यदलले निर्धारित समय पुस मसान्तसम्म एकताका लागि सुुझावसहित स्पष्ट प्रतिवेदन निर्माण गर्न नसकेपछि उसलाई थप समय दिइएको थियो।

तर, त्यो समयभित्र पनि कार्यदलले एकता लगायत प्रक्रियाको स्पष्ट सुझाव प्रतिवेदन निर्माण गर्न नसकेपछि विहिबार कार्यदल र सचिवालयको संयुक्त बैठक बसेको हो। पार्टी एकताको एक डेढ महिनामै सबै काम सक्ने बताइएपनि अहिलेसम्म प्रगति भएको छैन ।