काठमाडौं । छोराका हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित १३ वर्षदेखि सत्याग्रहमा रहेकी गंगामाया अधिकारीले न्यायका निमित्त पछिल्लो पटक ठूलो आँट गरेकी छन् । छोराका हत्यारालाई कारबाहीको माग गर्दै संघर्ष गरिरहेकी गंगामायाले राज्यबाट न्याय पाउन आश लगभग मारिसकेकी छन् । उनले पछिल्लो समय गरेको आँट हो, प्रहरीको थुनामा रहेको छोरो छुटाउने र अन्तर्राष्ट्रिय अदालत जाने ।
सधैँ झै विहिबार पनि उनीसँग वीर अस्पतालको दोस्रो तला, ७ नम्बर क्याविनमा भेट भयो । उनको स्वास्थ्य अवस्था पहिलेकै जस्तो, हात गोडा सुन्निएका । उठ्दा कसैले आड दिनु पर्ने । बेडबाट उठेर शौचालय जान, आउन सकेपनि धेरै बेर उभिन वा बस्न नसक्ने ।
गएको मंसिर पुसबाट अर्को स्वास्थ्य समस्या आइलागेछ । देब्रे आँखा धमिलो देख्ने । उपचारका लागि त्रिपुरेश्वर गइएको रिपोर्ट देखाइन् । डाक्टरले देब्रे आँखाको शल्यक्रिया (अंग्रेजीमा, अप्रेसन) गर्नुपर्छ भनेका छन्, अरे । तर, शल्यक्रियाका लागि गइएको छैन, भनिन् । औषधि चाँहि थुप्रो भिडाइदेछन्, त्रिपुरेश्वरका डाक्टसाबले ।
सान–साना थुप्रै बोतल देखाइन् । खानपिन भने उही पुरानै, सुप, दाल र दुध । अरु खाना खानै सक्दिनन् । देब्रे आँखा धमिलो भएपछि कहीलेकाँही छिर्ने र नयाँ जाने मान्छेलाई निकै बेर हेर्छिन् । बेडको आडैको भित्तो भने, पत्रपत्रिकामा छापिएका समाचार कटिङ् र परिवारका दिवंगत र बाँकी सदस्यको फोटो, देवी देउताको फोटोले भरिएछ । उनले पासपोेर्ट बनाएपछि त देशविदेशका पत्रपत्रिका भरिएछन् । त्यो उनले भित्तामा टाँसेका कटिङले बताइरहेका थिए, उनले भन्नै परेन । केहीले त गलत समाचार लेखेको सुन्दा दुःख लाग्यो, अनुहार सुम्सुम्याउँदै उनले भनिन् । त्यस्तो के लेखे र ? ‘अघिल्लो दिन परिपूरणको पैँसा बुझेर भोलिपल्ट राष्ट्रसंघको कार्यालय गईन् भनेर लेखेछन् नि !’
गंगामायासँग कुरा गर्दा गर्दै आइपुगे मानव अधिकारकर्मी तथा अधिवक्ता इन्द्र अर्याल । अनि गंगामाया र अर्यालले वातमारे । सुरुमा कुराको भेउ पाइएन । पछि, सुन्दै जाँदा छ्याङ्ग भो । गंगामाया निकट समयमै न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाँदै छिन् । उनको पासपोर्ट आइक्यो । सानो हाते व्याग (पर्स)भित्रबाट निकालेर देखाइन् । पासपोर्ट बनेपछि उनको मन अलिकति हलुंगो भएको भाव पोखिन खोज्छ, कुनै कुनै बेला । तर, ५ वर्ष अघि एकै शय्या घटेको पति वियोगको घटना, कान्छो छोरा कृष्णप्रसादको हत्या र जेठो छोरा नुरप्रसादको गिरफ्तारी दिमागमा आउने वित्तिकै भकानिहाल्छिन् । कुनै–कुनै बेला आफ्नै कुराले हाँसो पनि उठ्छ, उनलाई । तर, धेरै बेर टिक्दैन । हाँसो । बेला–बेला आँशु चुहिन छोड्दैन ।
उनीसँगको यो भेटमा सपाटसँग बुझेको कुरा चाँही– ‘गंगामायाले सरकारले घोषणा गरेको कुनै रकम अथवा परिपूरण लिने छैनन् । अब, परिपूरणको च्याप्टर क्लोज । उनको अडान ‘पहिले न्याय अनि मात्रै परिपूण’ । अनि अब चाँडै अन्तर्राष्ट्रिय न्यायालय जानु छ, उनलाई । त्यसको लागि चाँजोपाँजो हुँदैछ ।’ प्रहरी थुनामा रहेका नुरप्रसालाई छुटाउन कानूनी प्रक्रिया अघि बढिसकेको छ ।
अनि गंगामायाको कुराबाट अर्को थप कुरा पनि थाहा भयो । उनी अन्तर्राष्ट्रिय अदालत जाने कुराको सुँइको पाउनासाथ सत्तामा बसेकाहरुको मुटु हल्लिएछ । तु, अध्यागमन कार्यालय तथा विमानस्थलमा फलानो नम्बरको पासपोर्टको मान्छेलाई बाहिर जान नदिनु भन्ने उर्दी पनि भइसकेछ ।
सत्ताधारी मात्रै होइन, विपक्षीको पनि पसिना छुट्न थालेछ । गंगामायाले जिल्ला प्रशासन गएर पासपोर्ट लिएकार र अन्तर्राष्ट्रिय अदालत जान लागेको थाहा पाएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले गंगामायासहित अधिकारकर्मीलाई बारम्बार भेट्न बोलाइरहेका छन् । यो कुराले दुबैतिर ठूलै त्रास उत्पन्न भएको छ । देउवाले भेटौँ भन्दा पनि गंगामायाको मुद्दा अघि बढाउने अधिकारकर्मीहरुले भेट्न मानेका छैनन् । सत्ताधारी नेकपाका नेतालाई नि ज्वरो आउन थालेको कुरा गंगामाया र अधिवक्ता अर्यालको संवादले बोलिरहेको थियो । उनीहरुको कुरा अनुसार दुबैतिरबाट धमाधम फोन आउँछन् । गंगामायाले कसैलाइ पनि नछोड्ने बताएकी छन् ।
तत्कालीन विद्रोही माओवादीको अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै गंगामाया न्यायको लडाई लडिरहेकी छन् । आमरण अनसनमै प्राण त्यागेका नन्दप्रसादको शव अझै पनि शिक्षण अस्पतालको शव गृहमै छ । जेठो छोरा नुरप्रसाद अधिकारी सात महिनादेखि प्रहरीको नियन्त्रणमा छ । यो घटना आरोपी १३ जना मध्ये १२ जनाले सफाइ पाइसकेका छन् । एक जना रुद्र आचार्यको मुद्दा मुल्तवीमा छ । आचार्य आयरल्याण्डमा छन् । –प्रस्तुति श्याम सून्दर