काठमाडौं । पार्टी सभापतिइतर पक्षले महासमितिबाट केन्द्रीय समितिमा आएको विधानमा नोट अफ् डिसेन्ट लेख्ने तयारी गरेपछि कांग्रेस बैठक स्थिगित भएको छ ।
हिजो बस्ने भनिएको बैठक बस्दै नबसी पर्सिसम्मका लागि स्थगित भएको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महासमितिबाट आएको विधानसहित अन्य चार प्रस्तावमा अनौपचारिक बैठक र थप छलफल गरेर मात्रै केन्द्रीय समिति बैठक बस्ने सहमति नेताहरुबीच भएको बताए ।
तर, केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापतिइतर पक्षका नेताले विधानमा नोट अफ डिसेन्ट लेख्ने तयारी गरेपछि पार्टी सभापति देउवाले बैठक स्थगित गरेको बताए । उनका अनुसार देउवालाई चेतावनी स्वरुप पहेंलो(एल्लो)कार्ड देखाइएको हो । विधानमा शीर्ष नेताहरुबीच महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा मतभेद छ ।
सभापति देउवा पक्षधर नेताहरु केन्द्रीय सदस्य स्वतः प्रतिनिधि हुनुपर्ने पक्षमा छन्, भने सभापतिइतर नेताहरु सबै प्रतिनिधि तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने पक्षमा छन् ।
विहिबार बस्ने भनिएको बैठकलाई लक्षित गरेर नेविसंघको एउटा पक्ष पार्टी कार्यालयमा धर्ना दिन पुगेको थियो । धर्ना दिन पुगेका विद्यार्थी नेताले पार्टीबाट पारित नेविसंघको विधानअनुसार ३२ वर्षमुनिका विद्यार्थी नेताको नेतृत्वमा तदर्थसमिति बन्नु पर्ने माग गर्दै आएका छन् । बैठकमा पार्टीको विधान, नेविसंघको तदर्थ समिति टुंगो लगाउने लगायत प्रस्तावबारे छलफलको कार्यसूची थियो ।