काठमाडौं । नेपाल र मलेसिया सरकारबीच कामदार लैजाने प्रक्रियाको भेण्डरमा देखिएको विवादले गरिब नेपालीको २५ करोड डुब्ने अवस्थामा पुगको छ ।
मलेसियाबाट सात हजार आठ सय १७ जना नेपाली कामदारका लागि आएका कलिङ भिसाको म्याद सकिएपछि ती युवाहरुले लगानी गरेको २५ करोड डुब्न लागेको हो ।

मलेसिया जान एकजनाले औसतमा ३५ हजार रुपैँयासम्म लगानी गर्नुपर्छ । र, कतिपयसँग म्यानपावरहरुले चाहिने भन्दा बढी रुपैयाँ असुल गरेर ठगि गर्ने गरेका खबरहरु पनि आउने गरेका छन् ।

यो हप्ता मलेसिया सरकारसँग सम्बद्ध निकायले कलिङ भिसाको म्याद सकिएको र अब नथप्ने जानकारी दिइसकेको छ । भिसाको समय सकिएपछि ती युवा अब विदेश जान पाउँदैनन् । वैदेशिक रोजगार विभागले ४०–५० जना बाहेक अन्यको भिसा सकिएको जनाएको छ ।

विभागले १० महिनादेखि कचल्टिएको मेलेसिया रोजगारीलाई पुरानै अवस्थामा फर्काउन भिसाको अवस्था हेरेको थियो । वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईँले अहिले आएका कलिङ भिसामध्ये प्राय सबैको समय सकिएको जानकारी दिए ।