जुम्ला । गुठीचौर गाउँपालिका चाखुरे लेक तथा पाटन क्षेत्रमा संकलित करोडौंको जडीबुटी सेतो चिनी अर्थात् खिरौला कुहिएको छ । गएको माघमा लगातारको वर्षा र हिमपातले पाटनमा सुकाउन राखेको सेतो चिनी कुहिएको हो ।

कात्तिकदेखि व्यापारीले संकलन गरेर सुकाउँदै आएको सयौं क्विन्टल सेतो चीनी कुहिएपछि करोडौँ नोक्सान भएको छ । चाखुरे लेक तथा पाटन क्षेत्रमा ४० व्यापारीले कम्तिमा ५ सय क्विन्टल बढी सेतो चीनी सुकाउन राखेका थिए ।

जुम्लामै सुकेको सेतो चिनी प्रतिक्विन्टल ५० देखि ६० हजारमा विक्रि हुने गरेको छ । स्थानीय जडिबुटी व्यापारी दीपबहादुर बुढाले किनेर सुकाउन राखेको मात्रै ३० क्विन्टल बढी कुहिएको छ । ३० क्विन्टल सेतो चिनी कुहिदा दीपबहादुरको १२ लाख बढी नोक्सान भएको छ ।