काठमाडौं । सरकारले यातायात प्राधिकरण गठन प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषदले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यातायात प्राधिकरण ऐन, २०७५ को विधेयक तयार पार्न सैद्धान्तिक स्वीकृति समेत दिइसकेको छ । यातायात समितिमार्फत सञ्चालन हुँदै आएका सार्वजनिक यातायात व्यवस्थापन तथा नियमन गर्न प्राधिकरण गठन गर्न लागिएको हो ।

अब प्राधिकरणमार्फत नै मुलुकको यातायात व्यवस्था सञ्चालन हुनेछ । यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा गठित समितिले ऐनको मस्यौदा तयार पारिरहेको छ ।

अहिले मस्यौदा निर्माणकै क्रममा रहेकाले ऐन यस्तै बन्छ भनेर भन्न नसकिने मन्त्रालयले जनाएको छ । संविधानले स्थानीय तह र प्रदेश सरकारलाई सार्वजनिक यातायात सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । संघीय सरकार मातहत रहेका यातायात कार्यलय प्रदेश सरकारलाई हस्तान्तरण भइसकेका छन् ।