काठमाडौं । छोराका हत्यारालाई कारबाहीको माग गर्दै संघर्ष सुरु गरेको १४ वर्ष वित्यो, गंगामाया अधिकारीको । तत्कालीन विद्रोही माओवादीले १४ वर्षअघि १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेपछि उजाडिएको घर त फेरि बसेन, बसेन ।

मागेको कुरा पनि पाइनन्, उनले । उबेला पनि उनले मागेको एउटै कुरा थियो, आज पनि त्यही, सिर्फ ‘न्याय’ । हो, न्याय मात्रै मागेकी हुन्, उनले । तर, कती गर्दा पनि अहिलेसम्म न्याय मिलेन, उनलाई । केही पनि पूर्ति भएन, उनको । बरु, क्षतिको श्रृंखला रोकिएन । सुरुमा छोरा, त्यसपछि घरबास, अनि परिवारको छिन्नभिन्न । पति वियोग, जेठो छोरा बेपत्ता, आफैंले भित्र्याएकी बुहारी र आफैले न्वारन गरेको नातिबारे बेखबर । अझ त्यो भन्दा ठूलो क्षति त उनलाई, अदालती प्रमाणमा भयो । तत्कालीन सीडीओ, प्रहरी प्रमुख र न्यायाधीशले उपल्लो तहको दबाब र प्रभावमा मुद्दा कमजोर बनाइदिए । यी कुरा, अहिले पनि अधिकारकर्मीहरु खुलम खुल्ला भनिरहेका छन् ।

एसएलसी दिएर मामाघर जाँदै गर्दा २०६१ जेठ २४ गते चितवनमा हत्या भएको थियो, कृष्णप्रसादको । त्यो बेला माओवादीको विध्वंश साम्य भइसकेको थिएन । तै पनि बुबा नन्दप्रसाद अधिकारीले छोराको हत्या लगत्तै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिए । तर, मुद्दा अघि बढेन । वकिलहरुले मुद्दा लेख्नै मानेन् । सुरुमा त प्रहरीले पनि जाहेरी लिनै मानेन । तर, त्यसको एक वर्ष ६ महिनापछि नुरप्रसादले १३ जनाविरुद्ध किटानीसहित ठाडो उजुरी हाले । किटानीसहित जाहेरी दिँदा पनि मुद्दा अघि बढेन । पछि, राष्ट्रिय मानवअधिकार आयोग, अधिकारकर्मी लगायतको पहलमा मुद्दा अघि बढ्ने ढोका खुल्यो । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले यस सन्दर्भमा जस लिने ठाउँ भने राखेका छन् । मानव अधिकारकर्मी चरण प्रसाईंका अनुसार खिलराजले बाटो खोलिदिएकै हुन् ।

नुरप्रसादले किटानी दिएका नाम यीनै थिएः ‘छविलाल पौडेल, जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क) र रामप्रसाद अधिकारी (ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी ।’ यी मध्ये १२ जनाले चितवन जिल्ला अदालतबाट सफाई पाइसकेका छन् । रुद्र आचार्य आयरल्याण्डमा रहेकाले मुद्दा मुल्तवीमा छ । सुरु जाहेरी दिने कृष्णका बुबा नन्दप्रसादको पाँच वर्षअघि निधन भइसकेको छ । शव अहिलेसम्म त्रिवि शिक्षण अस्पतालको शव गृहमै छ । जेठो छोरा नुरप्रसाद अधिकारी जेलमा छ, गंगामाया वीर अस्पतालको बन्द कोठामा छिन् । यति धेरै फेहरिस्तबीच एउटा संयोग के भने गंगामायालाई गणितको ७ नम्बरले छोडेको छैन । अचम्मको दोस्ती छ उनको, ‘७’ नम्बरसँग । जहाँ गए नि नछुट्ने, ७ नम्बर नै पर्ने ।

तर, उनले हेर्ने राशी भने ७ परेन । एघारौँ नम्बरको कुम्भ राशि । जोतिषशास्त्र अनुसार कुम्भ राशिलाई शनि र साढेसाती लागेपनि त्यति हानी हुँदैन, बरु सहयोग मिल्छ भन्ने छ । एक जना वास्तुविद्ले कुम्भ राशिलाई यो वर्ष राम्रो छ, भन्दिए । ती वास्तुविद्का अनुसार कुम्भ राशिको हकमा अर्को वर्ष मात्रै साढेसाती सुरु हुन्छ ।
खैर, यो एउटा छुट्टै विद्याको कुरा भयो । तर, गंगामायालाई यही वर्ष ठूलै मान्छेका हातमा हत्कडी लगाउनु छ । उनले भनेकी छन्, ‘१२ वर्षमा खोलो फर्किन्छ भनिन्छ । तर, फर्र्किएन । न्याय माग्न राज्य र न्यायालयको ढोका खट्खटाउन लागेको १४ वर्ष पुग्यो । तर, मलाई गणितको एउटा नम्बरले छोडेको छैन । त्यो हो, ७ नम्बर ।’ यही सात नम्बर, सत् सावित भइदिए हुन्थ्यो भन्ने भाव सञ्चार भएको छ, उनमा ।

अनसन बसेको ७ वर्ष भयो, उनले भनिन्, ‘केही गरे अब यही ७ नम्बरले गर्छ । जहाँ गएपनि यो नम्बर छुटेको छैन । यो पल्ट हुनुपर्ने कामहरु लगालग भइरहेकाले केही हुन्छ कि भन्ने झिनो आशा छ ।’ के काम भए त्यस्तो आश लाग्ने ? जस्तैः नागरिकता बन्यो, पासपोर्ट बन्यो । राष्ट्र संघको नेपाल कार्यालय पुगियो । अब अन्तर्राष्ट्रिय न्यायलय जाने तयारी हुँदैछ । आदि इत्यादी ।’

त्यतिमात्रै होइन, उनलाई पहिले भुलभुलैयामा पार्ने केही मानव अधिकारकर्मीहरुका पनि यसै वर्ष पखेटा काटिए । अहिले तीनका अनुहारको चमक हराएको छ, भन्छिन् गंगामाया । उनका अनुसार गंगामायाले अघिल्लो दिन लाखलाख बुझेर भोलिपल्ट राष्ट्र संघको कार्यालय गइन् भनि अनर्गल प्रचार गर्नेहरु पनि मुख छोपेर हिड्न थालेका छन्, उनीहरुलाई लाज भएको छ ।

गंगामाया र ‘७’ नम्बर

जन्मघर : साविक गोरखा नाम्जुङ गाविस–७
कर्मघर : साविक गोरखा फुजेल–७
अनसन बसेको : वर्ष ७
अनसन बसेको ठाउँ : वीर अस्पतालको क्याविन–७
पति वियोगपछि गंगालाल हृदयरोग अस्पताल लैजाँदा : क्याविन ७
अन्तर्राष्ट्रिय न्यायलय जाने प्रयोजन कै लागि बनाइएको पासपोर्ट नम्बरको अन्तिम अंक : ७ (११२६६०७)
स्वास्थ्य खराब हुँदा राखिने आइसीयु :   प्राय ७*३ कै गुणनफल  (२१)

यसरी गंगामायालाई ७ नम्बरले पछ्याइरहेको छ । उनले हाँस्दै भनिन्, ‘जहाँ गएपनि ७ नम्बरले छोडेको छैन । प्राय ७ नम्बर नै परेको छ । यो ‘७’ ले के गर्ने हो, थाहा छैन ।’