काठमाडौ । खानेपानीमन्त्री विना मगरले जुनसुकै प्रक्रिया अपनाएर पनि छिट्टै राजधानीमा मेलम्चीको पानी ल्याउने तयारी गरिरहेको भित्रि हालचाल सुनाएकी छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा मेलम्ची खानेपानी आयोजनाको खानेपानी काठमाडौँवासीले कहिले पिउन पाउँछन् भन्ने सांसद डिला सङ्ग्रौलाले सोधेकोे प्रश्नको जवाफमा मन्त्री मगरले सिएमसीले ठेक्का छाडेकाले पूर्वनिर्धारित तालिकानुसार पानी आउन नसकेको बताताइन् ।

उनले भनिन्, ‘अहिले मन्त्रालय दुई वटा विकल्प लिएर अघि बढेको छ, पहिलो सिएमसी आए छिटो समस्या समाधान हुन्छ, पानी छिटो आउँछ, यसैले सरकारले संयमतापूर्वक छलफल अघि बढाएको छ, पुनःबोलपत्र आह्वान गरी छिटो पानी ल्याउने अर्को तयारी पनि गरिएको छ ।’

मन्त्रालयका पूर्वसचिव गजेन्द्रकुमार ठाकुर र मन्त्रीबीचको विवाद र सिएमसीसँग कमिशन मागिएका सम्बन्धमा भइरहेको सार्वजनिक टीकाटिप्पणीको सत्यतथ्य के हो भनी सांसद सङ्ग्रौलाले पूरक प्रश्न गरिन् । सांसदका पूरक प्रश्नको उत्तर दिँदै मन्त्री मगरले मेलम्ची आयोजनालाई आफू मन्त्री भएर आएपछि गतिका साथ अघि बढाएकाले तुलनात्मक रुपमा काम भएको जिकिर गरिन् ।

मन्त्री मगरको जवाफ थियो, ‘म आएपछि धेरै काम भएको हो, निर्माण कम्पनी सिएमसीको लापर्वाहीले परिणाम दिन सकिएन, सुरुङ ‘ब्रेक थ्रु’र ‘भ्यान्टिलेसन’ निर्माण प्रक्रिया शुरु हुनु, फिनिसिङ अन्तिम चरणमा पुग्नु यसका उदाहरण हुन् ।’ ।

सिएमसी गएपछि अन्योल छाउनु दुर्भाग्य भए पनि त्यसको भोलिपल्टदेखि नै कसरी काम अघि बढाउने भन्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी उनले संसद्लाई दिइन् ।

छिटो पानी ल्याउन सरकारका तर्फबाट निरन्तर प्रयत्न भइरहेको बताउँदै मन्त्री मगरले सिएमसी नआए पनि तीव्ररुपमा काम गर्ने गरी पुनःबोलपत्र आह्वानको तयारी गरिएको सुनाइन् । दुवै प्रयास समानान्तर रुपमा भइरहेको उहाँको भनाइ थियो । ‘भेण्डर’को समस्या समाधान गर्न सिएमसी आए सहज हुने भएकाले त्यसको प्रयास भइरहेको जनाइएको छ ।

ठेक्काको मान्यताभित्र रहेर काम गर्ने गरी आए सिएमसीलाई स्वागत गरिने तर विधि बाहिर गएर काम गर्न नसकिने मन्त्री मगरले बताइन् । उनले अगाडि भनिन्, ‘मेरो सफलताको विषय पनि हो मेलम्ची आयोजना, पूर्वसचिवलाई पहिलो प्राथमिकतामा राखेर मेलम्चीको काम गर्न निर्देशन दिएकामा नगरेपछि सरुवा भएको हो ।’

आफू आएपछि ८४ करोड १५ लाख मेलम्ची आयोजनाले भुक्तानी दिएकामा रु एक अर्ब खाएको भनी प्रचार गरिएकामा मन्त्री मगरले आपत्ति जनाइन् । मेलम्चीको विकल्पका रुपमा उपत्यकाका महादेवखोलालगायत पानीको स्रोतका बारेमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पनि पुगेको उनले प्रतिनिधिसभालाई जानकारी दिइन् । मेलम्चीको पाइप छिटो बिछ्याइ सकेर सडक बनाउने तयारी भइरहेको छ ।

उपत्यका वरपर जलाधार क्षेत्र घोषणा गर्ने गतिमै मन्त्रालयले काम गरिरहेको उनले बताइन् । मेलम्ची आयोजना हेर्न स्थलगतरुपमा जाँदा बनाइएको कार्ययोजनानुसार नै आफूले पानी आउने मिति घोषणा गरेको जानकारी उनले दिइन् ।

त्यसअघि पूरक प्रश्न गर्दै सांसद राजेन्द्रकुमार केसीले गत वैशाखमै पानी आउँछ भनी भाषण भइरहेको थियो किन ढिलाइ भयो, अब पानी आउने प्रष्ट तिथिमिति जानकारी पाऔँ भनी माग गरे ।

सांसद महेश बस्नेतले मेलम्चीले पाइप विस्तार गरेको स्थानका सडक असरल्ल छ, कहिले बन्छ भन्दै सरोकार भएका निकायलाई राखेर मन्त्रालयले बहस गर्नुपर्ने सुझाव दिए ।

सांसद गगनकुमार थापाले पूर्वसचिव ठाकुरले सिएमसीलाई तीन करोड दिएर फर्काउन नमान्दा आफू सरुवामा परेको भनी दिएको सार्वजनिक टिप्पणीमा दोषी को हो जान्न पाउने जनताको अधिकार रहेको भनी ध्यानाकर्षण गराए ।

सांसद प्रेम सुवालले चार आर्थिक वर्षसम्म समय तोक्दा पनि काठमाडौँ उपत्यकामा पानी नआएकाले उपत्यका वरपरका जलाधारको संरक्षण गर्ने सम्बन्धमा मन्त्रालयको के कार्यक्रम छ भनी प्रश्न राखे । सांसद बहादुरसिंह लामाले सिएमसी कम्पनीले ९५ प्रतिशत काम गरेको भनिए पनि कागजातको अध्ययन गर्दा ८० प्रतिशत मात्र काम भएको देखिन्छ, भने । खानेपानी सचिव ठाकुरले मन्त्री अनिमित काम गर्न लगाएको भन्दै सबैतिर चुक्ली लगाएका थिए ।