ललितपुर । दूरसञ्चार कम्पनी एनसेलको मुख्य कार्यालयअगाडि हिजो बेलुकी भएको बम विष्फोटमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

विष्फोटमा सख्त घाइते भएका लमजुङ घर भई भैँसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको हो । गुरुङको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विष्फोट लगत्तै गुरुङलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । उहाँको गए राति नै उपचारको क्रममा मृत्यु भएको हो । दुई घाइतेको मेडिसिटीमै उपचार भइरहेको छ । काभ्रेकी २५ वर्षकी प्रतीक्षा खड्का र मेडिसिटी अस्पतालकी नर्स २५ वर्षकी उरुषा मानन्धर विष्फोटमा घाइते भएका हुन् । बिस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले चन्दा नदिएको भन्दै बम विष्फोट गराएको आशंका गरेको छ । प्रहरी परिसर जावलाखेलका एसएसपी रविन्द्रबहादुर धानुकका अनुसार, ‘विप्लव समूहले एनसेल प्रालिमा एक महिना अगाडि पत्र पठाएर चन्दा मागेको थियो । त्यही पत्रबारे अस्ति ८ गते राजन तिमिल्सिना नेतृत्वमा ३ जना एनसेल कार्यालय पुगेका थिए । सुनुवाइ नभएपछि यो घटना गराइएको हुनसक्छ ।’