काठमाडौं । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको फाइनल शनिबार हुँदैछ । फाप्ला क्रिकेट मैदानमा हुने अन्तिम तथा निर्णयक खेलमा महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तरिया भिड्दै छन् । महेन्द्रनगर र अत्तरियाबीचको फाइनल खेल दिउँसो साढे १२ बजेपछि सुरु हुनेछ ।
शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर र दिपेन्द्र सिंह ऐरीको अत्तरिया दुवै बाजी मार्ने दाउका साथ मैदान उत्रदैछन् । यी दुवै टोली पहिलो पटक डीपीएलको फाइनल पुगेका हुन् ।
महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको हो । महेन्द्रनगर पहिलो पटक फाइनलमा पुगेको हो । आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिस्कार गरेपछि महेन्द्रनगरले अत्तरियासंगको भेट पक्का गरेको हो ।
काठमाडौंलाई नै हराएर फाइनल पुगेको अत्तरिया जारी प्रतियोगिताकै सर्वाधिक बलियो टोलीको रुपमा देखिएको छ । अत्तरियाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
यस, संस्करणको विजेताले ट्रफीसहित ३० लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।