एजेन्सी । भेनेजुएलामा गहिरिँदै गएको राजनीतिक संकटले हिंसात्मक रुप लिन थालेको छ । ब्राजिलसँगको सीमा क्षेत्रमा भेनेजुएलाका सैनिकले आदिवासी मानिसमाथि गोली प्रहार गरेका छन् ।

सेनाको गोली लागेर दुईजनाको मृत्यु भएको छ । अन्य केही घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रपति निकोलस मादुरोविरुद्ध प्रदर्शन हुँदै आएको भेनेजुएलामा अमेरिकासहितका देशले विपक्षी नेता हुँवा गुवाइडोको आग्रहमा पठाएको मानवीय सहायता सामग्रीको विषयलाई लिएर पछिल्लो समय विवाद झन चुलिएको छ ।

आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका र अमेरिका तथा युरोपका देश एवम् दक्षिण अमेरिकी देशहरु ब्राजिल, पेरु, कोलम्बियासहितको समर्थन पाएका गुएडोले सहायता सामग्री भेनेजुएला जसरी पनि प्रवेश गराउने बताएका छन् । तर, राष्ट्रपति मादुरोले भने सहायता सामग्री प्रवेश हुन नदिने रणनीति अनुसार ब्राजिलसँगको सीमा बन्द गरेका छन् भने कोलम्बियासँगको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन् । केही दिनअघि सीमा क्षेत्र पुगेका सहायता सामग्री अब भेनेजुएला प्रवेश गराउने र सर्वसाधारणमा वितरण गर्ने तयारीमा विपक्षी नेता गुएडो छन् । उनले त्यसका लागि स्वयम् सेवकसँग आग्रह पनि गरेका छन् ।