काठमाडौं । राष्ट्रिय बीमा संस्थानले शनिबार आफ्नो स्थापनाको ५२औँ वार्षिकोत्सव मनाउँदै छ । बीमा संस्थान, स्थापनाको ५१ वर्ष पार गरेर ५२औँ वर्षमा प्रवेश गरेको हो ।

नेपालमा बीमा व्यवसायको शुरुवात, विकास र विस्तार गरेर मुलुकको आर्थिक विकासमा टेवा पु¥याएको स्मरण गर्दै बीमा संस्थानले आगामी दिनमा सशक्त रुपमा बीमाको पहुँच वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ ।

देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यवसायिक बीमा कम्पनी स्थापना गर्न २०२४ पुस १ गते निजी कम्पनीका रूपमा स्थापना भएको संस्थान २०२५ साल पुस १ गते राष्ट्रिय बीमा संस्थानमा रुपान्तरण भएको थियो ।

यसले स्थापनाको प्रारम्भमा निर्जीवन बीमा र २०२९ देखि जीवन बीमा प्रारम्भ गरेको हो । २०४६ साल अघि बीमा व्यावसाय गर्ने निजी स्तरको कम्पनीको रुपमा २०४४ सालमा नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको मात्र स्थापना भएको थियो । यसले सुरुमा निर्जीवन बीमा व्यावसाय र त्यसको दुई वर्षपछि मात्र जीवन बीमा व्यावसाय गर्न स्वीकृति पाएको थियो ।

नेपालमा प्रजातन्त्रको पुनर्वहाली पछि २०४६ र २०४७ सालमा नेपाल सरकारले अपनाएको आर्थिक उदारीकरणको फलस्वरुप विभिन्न निर्जीवन तथा जीवन बीमा कम्पनीहरुले बीमा व्यावसाय गर्ने इजाजत पाए । त्यस अनुसार हालसम्म १६ वटा निर्जीवन, १८ वटा जीवन र १ पुर्नबीमा कम्पनी सञ्चालनमा छन् भने हालै तीन वटा नयाँ निर्जीवन कम्पनीले समितिबाट व्यवसाय सञ्चालनको अनुमती लिएका छन् ।

राष्ट्रिय बीमा संस्थानले सावधिक जीवन बीमा, म्यादी जीवन बीमा, ‘जीवन सुरक्षा’ सावधिक जीवन बीमा, बालबच्चाको सावधिक जीवन बीमा, ‘जीवन बन्धुु’ दोहोरो लाभ जीवन बीमा लगायत झण्डै एक दर्जन सेवा दिइरहेको छ ।