काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन आउने वैशाखमा हुने भएको छ । फागुन १५ गतेभित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन सार्ने तयारी गरेको छ ।

त्रिवि शिक्षाध्यक्ष एवं प्राध्यापक सुधा त्रिपाठीले नियमित तालिकाअनुसार स्ववियु निर्वाचनको तयारी गरेको बताएकी छन् । उनले फागुनबाटै परीक्षा सुरु हुने भएकाले अब वैशाख अन्तिम साता सम्पन्न गर्ने तयारीमा छौं, भनिन् । त्यसका लागि त्रिविका विभिन्न संकायका डिन, क्याम्पस प्रमुखलगायत सरोकार निकायसँग छलफल अघि बढाएको उनले जानकारी दिइन् ।

त्रिविले वैशाखमा हुने गरी स्ववियु चुनावको तालिका सार्वजनिक गर्ने गर्छ,’ शिक्षाध्यक्ष त्रिपाठीले अगाडि भनिन्, ‘चुनावमा कुन विद्यार्थी संगठन सहभागी हुने–नहुने भन्ने उनीहरूले नै निर्णय गर्ने हो ।’ हरेक दुई वर्षमा स्ववियु निर्वाचन हुने प्रावधान छ । यसअघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो ।